‘भू-माफिया’ले कब्जा गरेको भनिएकाे ६ बिघाभन्दा बढी जग्गाको दर्ता खारेज गर्ने सहमति

 असार २०, २०७६ शुक्रबार १७:४२:४७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - बरहथवा नगरपालिका-४, हजारियामा ‘भू-माफिया’ले कब्जा गरेको ६ बिघा १४ कठ्ठा जग्गको दर्ता खारेज गर्ने सहमति भएको छ।

शुक्रबार बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय जागदेव महतोको नाममा दर्ता भएको किता नम्बर ३२८ र ३१४ को जग्गाको सम्पूर्ण दर्ता खारेज गर्ने सहमति भएको नगर प्रमुख महतोले जानकारी दिनुभयो।

पहिलेकाे हजारिया गाविस-७, खैरा टोलमा रहेको ६ बिघा १४ कठ्ठा सार्वजनिक ऐलानी जग्गालाइ बरहथवा नगरपालिकाका-४ का वडाध्यक्ष लखेन्द्र महतोले मालपोत कार्यालय बरहथवा र नापी कार्यालय बरहथवाको मिलेमतोमा ‘भू-माफिया’को नाममा लालपुर्जा बनाएको स्थानीयले आरोप लगाएका छन्।

आफूहरुले चार पुस्तादेखि जोतभोग गर्दे आएको सार्वजनिक ऐलानी जग्गामा‘भू-माफिया’को नामका लालपुर्जा बनेको भन्दै स्थानीय बासिन्दाले केही दिन अघि बरहथवा नगरपालिकासहित चार वटा सरकारी कार्यालयमा तालाबन्दी गरेका थिए। सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको कारण आफूहरुको उठिवास लाग्ने भन्दै उनीहरु आन्दोलित भएका थिए।

शुक्रबार नगर प्रमुख महतोको अध्क्षतामा बसेको सर्वपक्षीय छलफलमा‘भू-माफिया’लाइ पक्राउ गरी कारबाही गर्ने, व्यक्तिको नाममा दर्ता भएको जग्गाको खारेज गर्ने, त्यसमा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाही गर्ने सहमति भएको जनाएको छ।

छलफलमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मालपोत कार्यालयका प्रमुख नापी कार्यालय मलंगवाका प्रमुख र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहको थियो। सार्वजनिक जग्गालाई व्यक्तिको नाममा सिफारिस गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने स्थानीयको माग अहिले पनि जारी छ।

हजारियामा त्यस्ता सार्वजनिक जग्गा अहिले पनि झण्डै ५० बिघा भन्दा बढी रहेको १ नम्बर वडाका अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो। वडा नम्बर ४ का वडाध्यक्ष लखेन्द्र महतोले त्यस जग्गामा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया