हेटौँडामा ट्यांकर ‘क्यालिब्रेशन’ सञ्चालनमा

 असार २०, २०७६ शुक्रबार १८:४४:४३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - पेट्रोलियम पदार्थमा वर्षौँ अगाडिदेखि हुँदै आएको अनियमितता अन्त्य गर्न ट्यांकर ‘क्यालिब्रेशन’ टावर शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक हेटौंडामा नापतौल विभागले पेट्रोलयम पदार्थमा गुणस्तर कायम गर्न ट्यांकर ‘क्यालिब्रेशन’ टावरको निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

ट्यांकर ‘क्यालिब्रेशन’ टावरको शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गर्नुभयाे ।

कुल एक करोड ५० लाख रुपैयाँ लागतमा तीन वर्ष लगाएर निर्माण गरिएको ट्यांकर ‘क्यालिब्रेशन’ टावर सञ्चालन गरिएको नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताउनुभयो । 

यहाँबाट एक दिनमा १५ वटा तेल ट्याङकरको गुणस्तर परीक्षण गरिने जनाइएकाे छ । यसबाट एक वर्षमा एक पटक एउटा ट्याङकरले परीक्षण गराएपछि मात्र सञ्चालन गर्न पाइने उहाँले बताउनुभयो । भारतबाट आएको तेल ट्याङकरलाई  परीक्षण गर्नका लागि सहज भएको छ । ट्याङकरमा ‘क्यालिब्रेशन’ गराएपछि मात्र नापतौल विभागले गुणस्तरताको प्रमाणपत्र दिनेछ र त्यसपछि मात्र ट्याङकर तेल ओसार्नका लागि योग्य हुनेछन् ।

याे सञ्चालन भएसँगै तेलमा हुँदै आएको अनियमितताको अन्त्य हुने विश्वास गरिएको छ । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले कम वा धेरै बोक्न मिल्ने वा नमिल्ने अवस्थाका बारेमा यसबाट सजिलै जाँच गराउन सकिने बताइएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया