सामाजिक सञ्जालमा जथाभावी लेख्ने पत्रकारलाई महासंघले कारबाही गर्ने

 असार २०, २०७६ शुक्रबार १९:५:५८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – पत्रकारलाई पुरस्कार दिएको विषयमा विवाद उत्पन्न भएपछि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारिता पुरस्कार लिने/दिने सम्बन्धमा निर्देशिका जारी गरेको छ । 

शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा गएको असार १८ गते बसेको सर्वपक्षीय बैठकबाट पारित भएको नेपाल पत्रकार महासंघ मोरङको 'पत्रकारिता पुरस्कार लिने/दिने सम्बन्धमा बनेको निर्देशिका-२०७६' लाई अनुमोदन गरेको हो । 

उक्त बैठकमा महासंघका पूर्व अध्यक्ष, पदाधिकारीहरू, सल्लाहकारहरू, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार संघ, संघीय प्रेस फोरमका मोरङ जिल्लाका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू र उपलब्ध पदाधिकारीको सहभागिता रहेको थियो ।   

निर्देशिकाले मोरङ जिल्लाका पत्रकार महासंघका सबै साधारण सदस्यहरूलाई पुरस्कार लिने/दिने सम्बन्धमा मापण्ड पूरा गरेका सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसा मात्रै ग्रहण गर्न निर्देशन दिएको छ । साथै माथिका मापदण्ड पूरा गरेर मात्रै सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसा प्रदान गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई अनुरोध समेत गरेको छ ।

विज्ञप्तिमा भनिएकाे छ, 'दर्ता, अक्षयकोष, विधान र कार्यविधि नभएको पुरस्कार नलिने घोषणा गर्दछौं । आफूले निरन्तर समाचार लेखिरहने निकाय वा व्यक्तिबाट पुरस्कार लिनुपरे यस्तो पुरस्कारमा पत्रकार महासंघ वा पत्रकारसम्बद्ध संस्थाहरूको निर्णायक भूमिका हुनुपर्नेछ । पुरस्कार भन्नाले सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसासमेतलाई जनाएको छ ।' 

'सामाजिक सञ्जालमा पत्रकार महासंघका पदाधिकारी, सदस्य तथा साधारण सदस्यले पत्रकार र पत्रकारिताको सम्बन्धमा नकारात्मक टीका-टिप्पणी नलेख्ने र अभिव्यक्ति नगर्न सबै सदस्यहरूलाई पत्रकार महासंघले अपिल गरेको छ । महासंघको उक्त अपिललाई अस्वीकार गरेको खण्डमा त्यस्तो सदस्यहरूलाई विभिन्न संघ-संगठनहरूको अध्यक्षहरूसँगको परामर्शमा महासंघ मोरङ शाखाले कारबाहीकाे लागि सिफारिस गर्नेछ'- नेपाल पत्रकार महासंघ मोरङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थानीय सञ्चारमाध्यममा पत्रकारका विषयमा पत्रकारले नै तथ्यहीन टीका-टिप्पणी गर्ने, मानमर्दन गर्ने गरी सामग्री प्रकाशन/प्रसारण नगर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ । छलफलका लागि विभिन्न सञ्चारमाध्यमका सम्पादक/प्रकाशकको भेला बोलाउने सर्वपक्षीय भेलाको निर्णयलाई बैठकले अनुमोदन समेत गरेको महासंघका सचिव अर्जुन आचार्यले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया