मृत्यु उत्सव

 असार २१, २०७६ शनिबार १३:१४:२८ | रमेश भट्टराई ‘सहृदयी’
unn.prixa.net

“छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहोर्‍याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ पनि नाच्न चाहन्छ । निकै बेरको मौनताका कारण रघुकी आमा आखिर छेउमै आएर बस्न विवश बनिन् । दुई हात टेकेर बसेको छ । उसले खुट्टा सिकुवादेखि तल झारेको छ । छोरोको मौनता, त्यसमा पनि अनुहारको अलिअलि आक्रोशले रेखा देखिन्छन् । रघुकी आमालाई ममताको एउटा मुटु प्रेमसागरमा हालेर पस्कने चाहनाले दौडाइरह्यो ।

एक्कासि रघुको लामो मौनता बाहिर निस्क्यो– ‘आमा ! मलाई त तपाईँ किन निन्याउरो नदेखिनुभएको होला भन्ने पो चिन्ता छ । म तपाईँको निधारमा हेर्छु । वास्तवमा फुस्रो, अँध्यारो मात्र देख्छु । कपडा हेर्छु । सबै विरक्तका प्रतीक लाग्छन् । आमा तपाईँलाई देखेर म निन्याउरो छु । तर, तपाईँमा आजको दिनमा पीडा किन झल्केन ?’
    रघुकी आमा एकाएक मौन बन्छिन् । आमाको मन कहाँ पत्थर बन्ला । आखिर खहरेझैँ बग्ने थियो होला तर सेती नदीझैँ भास्सिएर प्रकट भयो । माछापुच्छ्रेले मुस्काउनुमा आनन्द देख्न नसक्ने । मात्र सेतो हिउँको सेताम्मे कपडाको शरीरमा । मानौँ अलङ्कारको विद्रोहले चुरा सजाएर सजिन्न । आखिर उनको मनले दुनियाँसँग विधवाले विद्रोह गर्नुको अर्थ पनि रहेन । आखिर मन नै विधवा छ, बाहिर रङ्गिएर कसका लागि विद्रोह । मनले विधवाको आडमै पतिको आत्माले शान्ति पाउला भन्ने ठान्छ । शताब्दी जे आओस्, ‘मेरो इच्छा’ तर छोराको रायमा उनको मन बालकझैँ असन्तोषी बन्यो ।

“हो छोरा, मलाई थाहा छ । म एक्ली नारी हुँ । तँ भर्खरै चौध वर्षको बालख होस् । तैँले जे सोच्दैछस्, मेरो आत्माले आमाको नाताले बुझ्दैछु । हो, आज तेरो बाबाको जन्मदिन हो । मलाई थाहा छ– तँ पेटमा हुँदा मलाई लात्तले हान्थिस्, तेरा बा मेरो पेटमा कान थापेर सुन्नुहुन्थ्यो । तँ लात्तिले हान्थिस्, तेरा बाबाले पेटमा हुँदै तँलाई म्वाइँ खानुहुन्थ्यो । यो संसार कति निष्ठुर छ, तँ अभागी, म अभागी । मेरो देश अभागी । तँ सोझो, बालक । म अबला हेपिएकी एक्ली विधवा नारी । भयो, मलाई अब रोएर विद्रोह गर्ने आँसु सुकिसके । तँसँग अलिकति जोस बढेर के गर्छस्, रगत बगाएरै शान्ति हुने भए महाभारतको युद्धले युद्धको तुष मर्न सकेन । रावण मारेर के गरेर रामले– सीता त्यागे । भयो छोरा तँ अभागी ।”

आमाको धारा प्रवाह वेदनाको खहरेमा रघुको कलेजी फाटिरह्यो । उता बाख्राको पाठो यसो घाँस खेलाउँदै खान सिक्दै छ । रघुको मन एक तमासले एकोहोरिनुमै आनन्दित थियो– विद्रोहमा । विना उपाय । विना अर्थ । को हो बाबा ? कस्तो हुनुहुन्थ्यो ? अहँ, – भयोआखिर चिन्ताले जन्मदिनमा मृत्यु उत्सव बुझेर कसरी मेल गराउँछ । न त बाबाको हत्यारालाई ऊ सजाय दिएर शान्ति महसुस गर्छ । बाबाको जन्मदिन रघुका लागि के अर्थको भयो र ?

 “आमा ! आखिर मेरा बाबाको के दोष थियो ? के गर्नुभयो र तिनको? मैले मेरा बाबाको हत्याराको रगत कसरी पिऊँ?” 

“हेर छोरा ! यो संसार तेरा र मेरा लागि सधैँ अन्यायको आगोमा पिल्स्याउन अभ्यस्त छ । तर, युद्ध गरेर कहिल्यै शत्रुता अन्त्य हुँदैन छोरा । रगतको खोलो बगाए, रगतले त पुस्तौँपुस्ता रुवाइरहन्छ । संसारमा निर्धोलाई हेप्नेको होड छ । प्रकृतिमा बाघले मृगलाई खाने नियम कसले तोड्छ । बाध्यताको हिंसात्मक सृष्टिचक्र । मलाई मार्क्सकाे सिद्धान्त थाहा छ तर अत्याचारको अर्थ थाहा भएन । तर, तैँले यस्ता कुरा कसरी बुझ्न सक्लास् र ! तेरो रगत पनि मेरै रगत हो । तर, तेरा बाको रगत पनि त हो ।”

रघुको अबोध मन बोधगम्यझैँ बन्दै थियो । उमेर र परिस्थितिले पढाउँदै थियो । सभ्य र शिक्षित, बौद्धिक बनाउँदै थियो । “आमा ! मेरो बाबालाई किन मारे माओवादीहरूले ? आखिर मेरो बाबा आर्मी पनि त हुुनुहुन्नथ्यो ?”

छोराको आवाजले आमाको मन एकतमासले विखण्डित भयो । आखिर विभत्स घटनाको स्मरण गर्न नचाहने मुटुलाई छियाछिया हुने गरी इतिहासतिर धकेलिदियो ।

“छोरा तँलाई म कसरी तेरा बाबाको विभत्स हत्यालाई यो मुखले ओकलेर पाप प्रकट गरुँ । म मनमा स्तब्ध छु । तेरा अघि पीडा लुकाएर तेरो अनुहारमा हाँसोको बिउ रोप्ने आशामा बाँचेकी हुँ । तेरो रूप जीवित नभएको भए म पनि बाँच्ने आशा देख्दिनथेँ । अर्थात् तँ गर्भमै तुहिएको भए म यतिखेर कुहिएकी हुन्थेँ । कमसेकम माटो भइसक्थेँ । तर, बाँच्न पाउनु नै एउटा जित रहेछ । आज कमसेकम तँसँग तेरो बाबाको पीडामा भाव पोख्न त पाउँछु ।”

'तेरा बाबा खहरे पारीको नवजीवन माविमा गणित शिक्षक हुनुहुन्थ्यो । उहाँलाई पढाउन, शिक्षामा योगदान गर्न बाहेक अन्यत्र ध्यान थिएन । अरु मान्छे बाहिरफेर हिँड्दाओर्दा डराउँदै, आत्तिँदै निस्कन्थे । मैले पनि उहाँलाई सचेत रहन भन्थेँ । जमाना खराब छ, विचार पुर्‍याएर बोल्नुपर्छ है । जोगिन गाह्रो छ भन्थेँ । तेरा बाबा गाउँका दुई चार जना कमजोर केटाकेटीलाई तल्तिर पालीको कोठामा बिनाशुल्क पढाउने गर्नुहुन्थ्यो । आफू शिक्षा र शान्तिका पक्षमा योगदान दिइरहेको सम्झनुहुन्थ्यो । उहाँमा पूर्व र पश्चिमका ज्ञान थियो । उहाँ रोगी पनि हुनुभएकाले पढिरहेको देखेपछिमलाई खुसी लाग्थ्यो । म घरको काममै व्यस्त हुन्थेँ । तेरा बाले त एउटा पार्टीको सदस्यतासम्म लिनुभएको थिएन । उहाँका वचनमा म जीवन देख्थेँ, आफूलाई भाग्यमानी सम्झन्थेँ– संसारको उत्तम कर्म शिक्षा प्रदान गर्नु हो ।

तेरा बाबाका हरेक भावनामा आज म बुद्धको बुद्धत्व भाव देख्छु । उहाँ भन्नुहुन्थ्यो– युद्धले युद्धलाई नै डाक्छ । रगतले शान्ति होइन, युद्धविराम मात्र हुन्छ तर तुष बचाइरहन्छ । मान्छेको गुण भनेकै नयाँ मान्छेलाई भेट्नासाथ नमस्कार गर्ने हो तर पशुको गुण बल प्रदर्शन गरेर जुध्ने हो । बल देखाउने हो । बलले हातमा लिएर आफू हैकमवादी बन्ने हो । यसबाट शत्रुको जन्म भइरहन्छ । युद्ध मच्चिरहन्छ ।'

आमाका कुराले रघुको मनमा आफूले भित्तामा झुन्ड्याएको बाबाको धमिलो सादा तस्विरलाई नचाइदिन्थ्यो । रघुलाई बाबाको काखमा बसेर, धन्य बाबा– हजुर महान् विचारको मान्छे हुनुहुँदोरहेछ भन्ने मन हुन्थ्यो । उस्तै धमिलो चित्रमा आमाको कुरालाई मूर्तिझैँ केवल सुनिरह्यो । बिचमा यसो अँ...., हो......सम्म पनि भनेन । एकातिर ऊ गर्व गर्दै थियो । अर्कातर बाबाआमाको साथको अपेक्षाले पिरोल्थ्यो । दशैँमा बाबाआमाको संयुक्त आशीर्वादले जमरा सिउरिएको आशा । रघु पीडाकै सागरमा एक तमासले हराइरह्यो ।

आमाका पीडादायी भावभित्र कुण्ठित बाबाका मृत्यु कथामा रघुले वयष्क बोध गर्दै थियो । प्रतिवाद र प्रतिकारको योजना तुन्दै थियो ।

आमाले भन्नुभयो–देशमा त्यसताका माओवादी द्वन्द्वकालको भयले प्रायः सबै जनताको मन अछुतो थिएन । ठिटाठिटीले समेत रेडियो कानमा राखेर समाचार सुन्ने आदत बसाएका थिए । समाचारमा भीडन्त र आज कहाँ कति मरे, कति घाइते भए भन्ने विषय बाहेक अन्य कुरा चिन्ता र चासोभित्र पर्दैनथे । मानिसहरू मान्छे मरेका बाहेकका समाचारलाई समाचार नै मान्दैनथे ।

थलामा बूढ्यौलीले चाउरिएको गाईलाई देखाउँदै आमाले भनिन्– एकदिन सदाझैँ म यही सेती गाईलाई पानी खुवाउन के लागेको थिएँ । एक जना १५–१६ वर्षको विद्यार्थी स्कुलकै पोसाकमा घरमा आयो । त्यसदिन तेरा बाबा निकैबेरसम्म घरमा नआउँदा मनमा के–के, के–के अनेकथरि विचारले अशान्त बनाएको थियो ।देशको अवस्था राम्रो छैन । मन डरायो । भयभित भयो । त्यो विद्यार्थी अपरिचित नै भन्ने पनि थिएन । कहिलेकाहिँ तेरा बाबासँग पढ्न आउने गरेकाले सामान्य मात्र परिचित लाग्थ्यो–“वृहस्पति गुरुलाई माथि बर झ्याङको चौतारीमा आँखा घोचीघोची माओवादीले......गुरुमा । मैले रुखको आडबाट घारीमा बसेर देखेको । माओवादीहरूले पहिला गुरुलाई दुई हातमा समातेको देखेँ । बन्दुक तेर्स्याएर खै के–के भन्दै हप्काउँदै थिए । गाउँका मान्छे डरले जानै सकेका छैनन् । माओवादीहरू त्यतैतिर छन् भनेर होला । सायद गुरु......अब बाँच्नुभएको छैन होला ।” 

मैले तँलाई त्यसैदिन उकालो दगुर्न नसक्दा जन्माएँ । तेरा बाको प्राणपखेरुले त्यसैदिन मलाई फुस्रोधुस्रो बनायो । 

आँखाभरि आँसुले भरिएर रघुकी आमा भक्कानिएर बोल्नै सकिनन् । रघुले आमाको शिर थाम्यो । आमाको शिरलाई आफ्नो काँधमा अड्याएर एकोहोरो टोल्हाइरह्यो । आँखा हलचल नगरी एकटकले एकैस्थानमा हेरेर...., गमिरह्यो । 

आँसुका खहरेसँग आमाको आवाजमा घुँक्कघुँक्क थपियो । पीडाका धारा बहे । 

आजसम्म म त्यो चिन्नै नसक्ने गरी..... तेरो बाबाको शरीर सम्झँदा.... छोरा.......... ! मलाई बाँच्न मन लाग्दैन । तर, म कसरी विद्रोह गरेर जित्छु र ? म आफू त सबै मान्छेका आफन्त, आमाबाबा, परिवारको सम्बन्ध भएको देख्छु । हरेक मान्छे आमाकै गर्भबाट जन्मिन्छ, बाँच्नका लागि । अब मैले कसलाई मारेर के पाउने ? म प्रतिकारको प्रतिशोधबाट माथि उठेकी छु ।

टाउको सुम्सुम्याएर, अलि होसमा आएपछि रघुकी आमाले भनिन्– तँ जन्मेकै दिन तँ टुहुरो भइस्, बाबै । यो निष्ठुरी दैवलेमेरो एउटा आड भत्कायो । हैन हैन म दैवलाई कुनै दोष दिन सक्दिन । उसले तेरो बाबालाई मारेन । दैवले त तँलाई उपहार दियो । म जति पागल भएँ तर बौलाउने आँट गरिन । बाँच्ने मन थिएन तर मर्न सकिन । तँ मेरो मृत्युबाधक थिइस् । छोरा, भो ती विरक्तका दिनलाई कसरी यो कलेजीमा राखौँ । म भक्षक शासनबाट शान्तिको उद्घोष गरेको देख्दा वितृष्ण बन्छु । बुद्धको देशभित्र बुद्धलाई बलि चढाएर अर्चना गर्नेहरू एक हातमा तरबार बोकिरहेको देख्छु । लाग्छ– यदि म बेहोसी हुँदो हुँ त कमसेकम ती भयग्रस्त पापी दिनतिर स्मरण त जाने थिएन । कमसेकम स्मरण शक्ति गुमेको भए जाति हुन्थ्यो । 

“आमा, कतै मेरा बाबाकोकसैसँग दुस्मनी त थिएन?” रघु टोल्हाएर, विद्रोही शैलीमा बोल्यो । उसको आवाजले विद्रोही बन्न खोज्दै गरेको आभास गराउँछ ।

बाबु, कारण नसोध । यो संसारले आँखामा हाल्दा नबिझाउने तेरा बाले कहिल्यै कसैका लागि अनुचित सोच्नुभएन । न त गफ पिटेर हल्ला गर्दै कतै हिँड्नुभयो । चिया खान चोकमा मान्छेको भीड हुन्छ, तेरा बालाई म यसो बाहिर जानुस् न भन्थेँ । तर, उहाँसँग प्राज्ञिक गफ गर्ने समुदायको अभाव थियो– म अहिले सम्झन्छु । मास्तिरका काइँला बा सधैँ भन्नुहुन्छ– “वैकुण्ठ सर देउता हुन् । कति निष्ठुर भयो यो संसार । अब कसरी बाँच्ने, कसरी बस्ने ? बेकसुर सेवा गर्ने यस्ता श्रमप्रेमीलाई यो अन्धो समाजले अत्याचार गर्‍यो ।”

तैँले सधैँ मान्नुपर्ने मान्छे हुन्, काइँला बा । तँलाई पीडाका यी पाना कसरी खोलौँ । तेरो बाबाको तेह्रौँ क्रियाकर्मको दिन थियो । गाउँका मान्छे र आफन्त डरले हाम्रा घरमा आउँदैनथे । आफू सुत्केरी । आफन्त कोही आइहाले पनि फर्कनैहतार गर्थे । गाईलाई पानी दिनेसम्म कोही भएन । मैले फुकाएर बारीतिर छोडिदिएँ । गाईले घाँस खान मानेन । चर्न मानेन । मैले ढिलो मात्र बुझेँ – ऊ पनि तेरो बाबाकै शोकमा रहेछ । मैले उसैलाई काँध हालेर रुन सकेजति डाँको छोडेर रोएँ । म रुँदा आश्वासन दिने मेरी प्यारी गाई । मैले मायाको डोरो सोचेभन्दा फरक पाएँ ।

भोलिपल्ट बिहानै मास्तिरकी सानी नानी रुँदैरुँदै दगुरेर आई– “काइँला बालाई, अनि माओवादीले । रगतै रगत बनाइदिएर..........।” यत्ति सुनिसक्दा म हत्त न पत्त तँलाई काखमा च्यापेर उकालो दगुरेँ, काइँलाबाकातिर। तँ कोहोलो गर्दै रुँदै थिइस् । उकालो दगुर्न खोज्छु, खुट्टा झनै तलतिर खस्छन् । नातागत भएर चिटचिट पसिना आएको छ । पाँच मिनेटको बाटो मलाई झन्डै बीस मिनेट लाग्यो ।

नभन्दै, काइँला बाको खुट्टामा गोली हानिएको रहेछ । बन्दुकको फेदपट्टिबाट हानेर देब्रेतिरको गाला ख्वाप्प भित्रतिर पसेको छ । बिचरा बूढा मान्छे रगतले मुछिएका छन् । गाउँका मान्छे भयले आतङ्कित। चाइँचुइँ, सबैका ढोका बन्द भए ।

मैले तल्लाघरे सुदीप वि.क. लाई चिच्याएर बोलाएँ । बल्लबल्ल डराउँदै आएपछि भनेँ–‘बाबु अब के कसरी सकिन्छ छिटो स्टेचर मगाएर सदरमुकाम लैजाऊँ । अत्याचारीले अत्याचार गर्‍यो तर यो बिजोगलाई हेरेर नबसौँ । मारे भने सबै सँगै मरौँला । एकातिर म बोक्छु । हैन भने डोकोमा हालेर भए पनि म एक्लैले लैजान्छु । मेरो छोरोलाई हेरिदिनु ।’

म त जोस्सिएर तयार भइसकेकी थिएँ । एकछिनपछि सुदीपले भन्यो– भाउजू, तपाईँ सुत्केरी मान्छे । दाजुको शोकको आलो घाउ छ । बच्चाको यस्तो हालत । भयो जे पर्छ, बालाई म लैजाने प्रबन्ध मिलाउँछु ।

उसले आधा घण्टामा ३०–३५ जना आइमाई र लोग्ने मान्छे भेला गरेछ । सबैलाई उक्साएछ । तबसम्म मैले तन्नाले घाउमा साइँला बाको घाउ बेरिरहेकै थिएँ । बाको अवस्था असचेत थियो । मलाई त बाँच्लान् भन्ने लागेकै थिएन । बाँचेछन्, तैँले मान्नुपर्छ । ती गाउँका बुज्रुक हुन् ।

तेरा बाबाको आदत र ज्ञानका बारेमा तिनलाई थाहा छ । तिनलाई धेरै कुरा थाहा छ ।आर्मीले पल्ला गाउँकी माहिलीलाई माओवादी भन्दै पक्रेर लेगेका थिए रे । धरै समय गायब बनाए । पछि सुन्नमा आएको– बलात्कार गरेर मारे रे । अहिले तिनको नाम बेपत्ताको सूचीमा छ भन्ने सुनिन्छ, भन्थे । तेरा बाबा मात्रै होइन छोरा, हजारौँ मान्छे निर्मम पीडा बेहोरेर मरे । गोठाला मरे, खेताला मरे, घाँसी मरे, कलिला बालबच्चा मरे, महिला मरे, वृद्धवृद्धा सबै मरे– अकालमा मरे । मारिए । मर्न विवश पारिए । यातनाको सिकार बनाइए । कतिपय आर्मीहरूको आँखा निकालिएर, काटेर नुनखोर्सानी छरेर, तड्पाइतड्पाइ मारिए । करेन्ट लगाइएर मारिए । मार्नुमा ठूलो उपलब्धि । पढ्ने र कलम बोक्ने कलिला हातलाई जङ्गल जङ्गल घुमाएर बन्दुक बोक्न बाध्य तुल्याइए छोरा ।

आमा जोसमा बोलिरहिन् । रघु एकोहोरिइरह्यो । आमाले फेरि भन्दै गइन्–

जो मरे पनि आखिर आरोपित नै भए– कोही माओवादीका सेना भनिए । कोही पनि होइन या निर्दोष रहेछ भन्ने भए सुराकी भनेर मारे ।सेनाले माओवादी मारेका दिन मृत्युत्सव हुन्थ्यो । अहिले पनि औँलामा सुइरो रोपेर यातना बिहोरेकाले रिट्ठे दाइको हातमा क्यान्सर हुनुको कारण त्यतिखेरको सैनिकको कर्तुत हो । करेन्ट जोडेको पानीमा जबर्जस्ती पिसाब फेराउने । महिलालाई कति गायब पारिए, बलात्कृत भएका घटना सबै कहाँ आए होलान् र ! आजसम्म तेरी सानीमाकी दुई जना भदैनीहरू भारतमा बेचेको भन्ने मात्र सुनिएको छ, छोरा कहालीलाग्दा यी कथामा तँ विद्रोही बन्लास् । अनि अर्को प्रतिक्रान्ति नजन्मोस् । तँ विद्रोहको आगो नबाल् छोरा बरु शान्ति र सद्भावले कसैले ल्याउन नसकेको विशाल परिवर्तनलाई विना रक्तपात, सप्रेम सम्भव छ । हो, छोरा । तैँले बुद्धको जस्तो, आजको युगको बुद्ध बनेर देशको बागडोर सम्हाल्नुपर्छ । तर अरु अत्याचारको पराकाष्ठा र प्रताडना पनि सुन्छस् छोरा ? तर म सम्झन्छु–

द्वन्द्वकालमा माओवादीले हैरान पारेपछि घरमा बसेर पढ्न नपाएकाले सुवेदी माइलाको छोरो सुदीप त्यतिखेरै इन्डिया भागेर गएको आजसम्म फर्केको छैन ।कैयौँ बालबच्चा अपहरित भए, विद्यालयका कलिला विद्यार्थी अपहरित भएपछि विद्यालय जानै मान्दैनथे । आफूतिर तान्न चाहेर घण्टौँ हिँडाउँदा मन एकोहोर्‍याउने प्रपञ्च रचियो । हो, साहै्र हैरानी बिहोरे । कत्तिले गाउँ छोडेर शहरतिर, सुरक्षा खोज्दै बिल्लीबाठ हुनुपर्‍यो । पढ्न पाएनन्, उद्योग व्यवसाय चौपट भयो, घरबार छोड्नुपर्‍यो । त्रासले मनोविज्ञानमा पारेको असरबारे त कसरी मूल्याङ्कन होला ?आज उपलब्धिका कुरा छन् बाबै । घाँस काट्न गएकी एम्बुसबाट बँच्न पाइछन । बाबाआमा घरमा कति रोए, तिनमा पत्तो थिएन ।

आमाको अनुहार सोहोरियो, दुबै ओठ बटारेर मुखभित्र पारिन् । छोरो कुरो बुझ्दैछ किनकि ऊ पीडित परिवारको दुःखी मान्छे हो ।

आजभोलि शहरीकरण बढ्नुको एउटा ठूलो कारण द्वन्द्वकाल पनि त रहेछ, छोरा । इतिहास गोरो भनौँ कि कालो म मान्छेको रगतको आलो घाउ मात्रकोउपलब्धिदेख्छु । सभ्यता मास्ने सोचका घटिया जर्जरता नियाल्छु । अधिकारका नाममा अन्धो बनाएर भोट बटुलेपछि कर्तव्य कुल्चेको देख्छु । हो बाबै हो– यो झुटो होइन । तर, युद्ध रक्तपातको ज्यादति हो । हाम्रो देशमा युद्ध होइन असल शासन चाहिएको छ । के तँ बुझ्छस् त ?! सायद बुझ्लास् ।

रघुले बुझेको भावमा भावात्मक प्रतिक्रिया जनायो । 

मलाई याद छ, छोरा– मैले आफूले पढेको बाल सुबोधिनी संस्कृतमा.वि.को संस्कृत विशेष पुस्तकालय जलाएर खरानी बनाइदिए । त्यहाँका रघुवंश, वेद, उपनिषद् जलाएर खरानी बनाए । जलाइएको पुस्तकालयको छेवैमा एउटा हातले लेखिएको पत्तो भित्तामा टाँसिएको थियो : 
    “संस्कृत पुरातन मुर्दावाद !
    बुर्जुवा शिक्षा खारेज गर !
    मार्क्सवाद, लेनिनवाद जिन्दावाद !
    ध्यान दिनोस् : आजैदेखि यो स्कुलमा संस्कृत पढाउन बन्द नगरिए अर्को कारबाही गरिनेछ ।”

के गर्छस् बाबै ! माओवादीले एम्बुसमा पारेर सैनिक धेरै मारेका दिन, ब्यारेक–थाना कब्जा गरेका दिन मृत्यु उत्सव हुन्थ्यो ।

हो, द्वन्द्वकालपछि मानिसमा अलिकति चेतना जाग्यो । अधिकारको भोक लगायो । बाठो त बनायो तर निराशाको आगो निभेन । उपलब्धि के भयो, त्यो विषयको जिम्मेवार नै को हो ? अब जिम्मेवारी बुझेर या जानेर पनि त अर्थ रहेन ।

रघुले धेरै बुझ्यो तर अलिकति नबुझेको भावमा टोल्हायो । आमाको गतिमा भावुकताको आवाजले उत्कर्ष भर्दै थियो । मानौँ– वक्तृता कार्यक्रममा बोल्दै छिन् ।

बन्दुक बोक्नेसँग त हतियार थियो, एउटै लक्ष्य थियो तर बन्दुकै नदेख्नेले अत्यन्तै चरम यातनाको सिकार खेप्नुपर्‍यो । अभिमन्युको मृत्यु पनि कमसेकम युद्धमा भयो– मात्र निहत्था, बालक, बाबाको नाम लिँदै गर्दा । हो छोरा तँलाई निर्ममताको उत्कर्षसम्मका कथा कति जर्जर थिए, म भन्नै सक्दिन ।

काइँला बाले भन्थे, काठमाण्डाै पुग्न साह्रै गाह्रो । नेपालगञ्जबाट हिँडेको, गाडीबाट ओरालेर बन्दुक कन्सटमा तेस्र्याएर धम्क्याउँदै बाटैपिच्छेका ब्यारेकमा चेक हुने, साह्रै हैरान । 

एकदिन त एक जना यात्रुले रोडमा थुकेछ । ब्यारेक अलि पर रहेछ तर त्यहाँ खटिएको एउटा आर्मीले देखेछ । 

‘कसले थुकेको हँ, यो गाडीमा सबै माओवादी हालेर बोक्छस्’ ड्राइभरतिर फर्केर त्यसले हप्काएछ । ‘सबैलाई गाडीबाट ओराल् ।’

 ‘हेइ ! सबै जना लाइन लाग् ।’ 

उसको छुद्रता र अत्याचारले सीमा नाघिसकेको रहेछ । सबै जना लाइन लागेछन् । त्यसपछि थुक्नेले भनेछ– ‘हजुर गल्ती भयो हजुर ! माफी चाहन्छु । म सोहोर्छु, पुसेर सफा गर्छु ।’

लाइनमै बसिरहँदा त्यो आर्मीले त्यसलाई बुटैबुटले सकेजति हिर्काएछ । यत्तिकैमा पाँच सात जना आर्मीले हतियार तेस्र्याउँदै सबैलाई कान समातेर टुक्रुक्क बस्न 
लगाएछ ।

थुक्ने चाहिँले फेरि भनेछ - मबाट ठूलो गल्ती भयो हजुर, म पुस्छु । कृपया एकपटक माफी दिनुहोस् हजुर ! 

‘अझ के भनिस् रे, खुरुक्क निहुरेर त्यो चाट् । चाट्छस्  कि यो बन्दुकको पासोले तेरो गिदीमा हान्दिऊँ ।’

त्यो आर्मीको व्यवहार देखेपछि बिचरा एकजना लाइनमा लागिरहेका बूढा यात्रुले त, सुरुवालमै सु–सु गरेछन् ।

‘हैन यो माओवादीलाई कहाँदेखि ल्याइस्’ – ड्राइभरपट्टि फर्केर कड्केछ । ड्राइभरले पनि विचरा चुपचाप काम्दै बस्नै पर्‍यो ।

आखिरमा त्यो थुक्नेवालालाई भुईँको सुकिसकेको ठाउँमा जबर्जस्ती चाट्न लगाएछ । त्यहाँबाट दुई घण्टासम्म सबैलाई कान समात्न लाएपछि मात्रै गाडि छोडेछ । – काइँला भन्थे छोरो ।

रघुको अनुहार क्रोध र पीडाले विक्षिप्त भयो । आमाको रोदनमा एक–एक आँसुको मूल्य बोध गर्दै थियो । रेडियोमा समाचार बोल्दै गर्दा नेताजीको आवाज घन्किएको सुन्थ्यो– युद्धमा सबै दोषी मरेनन् तर जो मरे देशका लागि शहीद भए । आज तिनको उपलब्धिमा हामीले नयाँ नेपाल पाएका छौँ ।

रघु आक्रोशमा जोस्सियो । मुट्ठी पार्‍यो । तर...आमाकै कुराप्रतिको ध्यानाकर्षणले घिसारिरह्यो......।

 “आमा त्यसो भए, मेरा बाले देशका लागि लड्नुभयो ? हामी द्वन्द्वपीडित हौँ ?”

हैन छोरा, तेरा बाले त अज्ञानताका लागि लड्नुभयो । हामी द्वन्द्व नै नचाहने किन अर्काले भनिएका द्वन्द्वमा पीडित बन्ने ? हाम्रो सानो सुखी परिवारको अपेक्षाको कुनै पनि कुनामा द्वन्द्व कहिल्यै अटाएन । कलमवीरले कतै पनि अलिकतिपनि रगत बगाउँदैन–कलमको मसी खन्याउँछ । बरु मसीको बट्टै लडाउँछ, पोत्छ, कोर्छ । कापीभरि घिनलाग्दा अक्षरले असरल्ल बनाउँछ । मात्रै चेतना र भावनालाई बदल्छ । रगतको तुजुकमा बन्दुकको धम्कीबाट होइन, बरु प्रेमको वाणलाई धारिलो बनाएर सर्वसाधारण जनताको ओठमा मुस्कान भरी–भरी चम्काउँछ ।

परिवारमा चारपुस्ते आनन्द (पनातिनी, नातिनी, छोरा–बुहारी, हजुरबा–हजुरआमा) मा प्राकृतिक मरण हुन्छ । नयाँले तोते बोल्छ । पुरानोले संसार छोड्छ । मात्र प्रकृतिकै इच्छा । मानिसरूपी यमराज को, किन बन्ने ? हामी मृत्यु उत्सवमा रम्न सक्दैनौँ । आज हरेक कुर्सीको लालचीपनमा मृत्यु उत्सवको नगरा घन्किरहेछ । यो समाज, यो देश, यो पृथ्वीमा को चाहिँ सधैँका लागि बाँचिरहन्छ ?

कमसेकम बाँचुन्जेल यो ओठमा दुई आनाको हाँसो भर्ने अतीत मार्गबोधी व्यक्ति हुन्– तेरा बाबा । तेरो बाबासँग प्रतिशोध र शत्रुताको भाव कहीँ कतै पनि थिएन । भो, अब मृत्यु उत्सवमा रमाउनेहरूसँग प्रतिशोध नगर बरु प्रेम गर्ने कोसिस गरेस्, बाबै । शान्तिदूत बुद्धको मार्गमा बाँच्न सिकेस् !

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया