पर्यटक आगमनकाे ‘सिजन’ सकिएसँगै खुम्बु सुनसान, अधिकांश होटल बन्द

 असार २२, २०७६ आइतबार १५:२१:२७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र अहिले सुनसान बनेकाे छ ।

पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् । पर्यटनको मध्य ‘सिजन’मा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ परेका होटल व्यवसायीहरु यतिखेर भने फुर्सदिला बनेका छन् ।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतमा अहिले पर्यटकको चहलपहल अत्यन्तै कम रहेको छ ।

केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त बनेका छन् । ‘सिजन’मा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले मुस्किलले एक दुई जना पर्यटक मात्रै भेटिने गरेका छन् ।

खुम्बु क्षेत्रमा मार्चको दोश्रो साताबाट सुरु भएको पर्यटकीय ‘सिजन’ जुनको दोश्रो साताबाट कम हुदै जाने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । ‘सिजन’मा करिब ५ सय देखि ६ सयको हाराहारीमा पर्यटकहरु खुम्बु क्षेत्र प्रवेश गर्ने गरेको भए पनि अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटकहरु आउने गरेको पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताउनुभयो ।

‘सिजन’मा व्यस्त हुने निकुञ्ज कार्यलय समेत ‘सिजन’ सकिएसँगै फुर्सदिलो बनेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, मन्जो चेकपेष्टले जनाएको छ । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकहरु समेत ‘सिजन’ सकिएपछि तिर्थ यात्रा तथा भ्रमणका लागि बाहिर जाने गरेका छन् । उनीहरु अहिले काठमाण्डौ,लुम्बिनी,पोखरा लगायतका तिर्थ स्थलहरुको भ्रमणमा निस्किएका छन् ।

‘सिजन’मा अत्यन्तै चाप हुने भएकाले ‘सिजन’ सकिएपछि घुम्नका लागि अधिकांशं व्यवसायी तथा होटल सञ्चालकहरु बाहिर निस्कने गरेको गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाले बताउ‍नुभयो ।

यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्राेत नै पर्यटन भएकाले ‘सिजन’ सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन् । ‘सिजन’मा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर,भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया