१ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन चार कम्पनीको बोलपत्र पेस

 असार २२, २०७६ आइतबार १७:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि ४ वटा कम्पनीहरुले बोलपत्र पेस गरेका छन् ।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेस गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेस गरेका हुन् । दातृ निकाय एसियाली विकास बैक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नेगरी बोलपत्र आहन गरिएको थियो । 

तनहुँको जलविद्युत आयोजनाको पहिलो चरणको कामको लागि चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चीन, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चीन, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम-कालिका कन्ट्रक्सन,नेपाल जेभीले बोलपत्र पेस गरेका हुन् ।

कम्पनीहरुले पेस गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताउनुभयो । ‘प्राविधिक बोलपत्रको मूल्याङकन आउँदाे भदौको दोस्रो साता (अगस्ट २०१९)भित्रमा सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउँछौं, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं’ उहाँले भन्नुभयो ।

‘कात्तिकको दोस्रो साता (अक्टोबर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको थियो । सुरुमा बोलपत्र पेस गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएकोमा बोलपत्र पेस गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो । 

निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नुपर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैक (ईआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ । 

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम  गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ । 

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर ब्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको  छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया