पाकिस्तानका कप्तान सर्फराज भन्छन्ः भारतले जानी जानी हारेको होइन, इंग्ल्याण्डले राम्रो खेलेको हो

 असार २३, २०७६ सोमबार १२:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट-२०१९ को समूह चरणबाटै बाहिरिएको पाकिस्तानी टिम स्वदेश फिर्ता भएको छ । 

स्वदेश फिर्ता भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाकिस्तानी टिमका कप्तान सर्फराज अहमदले समूह चरणबाटै आउट हुँदा आफूलाई कुनै अप्ठेरो नलागेको बताएका छन् । 

साथै उनले कप्तान पद छाड्ने विषयमा पनि कुनै नसोचेको प्रष्ट पारे । आफूले अझै पनि पाकिस्तानी टिमलाई माथिल्लो स्तरमा पुर्‍याउन सक्ने बताए ।  

साथै उनले भारतले जानी जानी इंग्ल्याण्डसँग हारेको भन्ने पाकिस्तानी समर्थकको भनाइको पनि खण्डन गरेका छन् । उनले भने, ‘भारतले जानी जानी हारेको होइन इंग्ल्याण्डले राम्रो खेलेको हो ।’

सर्फराजले कप्तानको विषय पाकिस्तान क्रिकेट बोर्डले तय गर्ने र उसको निर्णय आफूलाई मान्य हुने बताए । कप्तान सर्फराजले आफ्नो टिमको बचाउ गर्दै पाकिस्तानी क्रिकेटरहरु अधिकांश युवाहरु रहेको र विश्वकपमा गरिएका गल्तीहरु सच्याएर अघि बढ्ने हो भने आगामी दिनमा राम्रो क्रिकेट खेल्न सकिने बताए । 

उनले आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि तयारी सुरु गर्ने पनि बताए । उनले भारतसँगको पराजयले विश्वकपमा झनै समस्या थपेको बताए । लगातार विश्वकपमा भारतसँग पराजित हुनु पाकिस्तानका लागि दुःखको कुरा भएको भन्दै पछिल्ला प्रतिक्रियाले टिम झनै आहत भएको उल्लेख गरे । 

सर्फराजले पाकिस्तानकी प्रशिक्षक मिकि आर्थर मुख्य चयन कर्ता इन्जमाम उल हक या अरु कुनै पनि खेलाडीसँग आफ्नो मतभेद नभएको पनि प्रष्ट पारे । कप्तानको अधिकारमा कुनै पनि हस्तक्षेप नभएको बताउँदै पाकिस्तानले सर्वश्रेष्ठ गर्दा गर्दै पनि केही गल्ती भएको भने स्वीकार गरे ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया