नेपालमा लगानी तथा पर्यटन प्रवर्द्धनबारे ओमानमा छलफल

 असार २३, २०७६ सोमबार १७:०:४३ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – नेपालमा विदेशी लगानीका सम्भावनाबारे ओमानमा छलफल भएको छ । ओमानको उद्योग तथा वाणिज्य मन्त्रालयका उपसचिव अहमद विन हसन अल ढेवको उपस्थितीमा भएको कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा लगानीको सम्भावनाका क्षेत्रबारे जानकारी गराउनुभएको छ । 

मस्कटमा रहेको नेपाली दूतावासले सोमबार आयोजना गरेको कार्यक्रममा लगानी सम्मेलनका अवसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदाय समक्ष दिएको भिडियो सन्देश समेत देखाइएको छ ।

कार्यक्रममा राजदुत ढकालले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन विदेशी लगानी महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले  नेपालको कृषि, ऊर्जा, पूर्वाधार, शिक्षा, उद्योग, शहरी विकास, यातायातजस्ता क्षेत्रमा विदेशी लगानीको सम्भावना रहेको पनि बताउनुभयो ।

देशमा लगानीको वातावरण बनाउन सरकारले लगानीमैत्री कानुन बनाइरहेको पनि राजदूत ढकालले जानकारी दिनुभयो । छलफलमा ओमानको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया विभाग प्रमुख, अर्थ विभाग प्रमुख, ओमान चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अध्यक्ष लगायत उच्च अधिकारीको सहभागिता थियो । 

यसैबीच नेपालमा पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा ओमानमा कार्यरत नेपाली समुदायसँग पनि दूतावासले छलफल गरेको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको निवासमा भएको कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानी महिला नादिरा अल हार्थीको प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया