भारतले अमेरिकी उत्पादनमाथि लगाएको कर मान्य हुँदैन, फिर्ता लिनुपर्छः अमेरिकी राष्ट्रपति ट्रम्प

 असार २५, २०७६ बुधबार १२:१५:७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको नीतिलाई लिएर असन्तुष्ट छन् ।

ट्रम्पले फेरि एक पटक भारतीय नीतिको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतलाई निशाना बनाउँदै अमेरिकी उत्पादनमाथि भारतले लगाउने कर अब मान्य नहुने बताएका छन् । 

यद्दपि ट्रम्पले यो विषयमा अरु कुनै जानकारी नदिए पनि भारतले अमेरिकी उत्पादनमाथि कर नहटाएमा नयाँ कदम चाल्ने बताएका छन् । ट्रम्पले भारतविरुद्ध आगामी दिनमा ठोस कदम उठाउन सक्ने बताइएको छ । 

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाउँदै आएको छ । अब यसलाई सहन सकिँदैन ।’

गएको जुन महिनाको सुरुवातमा जी–२० बैठकभन्दा अघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भारतले अमेरिकी उत्पादनमा लगाएको २८ प्रतिशत कर फिर्ता लिन भनेका थिए ।

त्यसपछि प्रधानमन्त्री मोदी जी–२० बैठकमा सहभागिता जनाउन जापानको ओसाका पुगेका थिए र त्यहाँ दुई नेताबीच भेटघाट भएको थियो । 

ट्रम्पले भनेका थिए, ‘म भारतीय प्रधानमन्त्री मोदीसँग यो विषयमा कुरा गर्नेछु । भारतले अमेरिकी उत्पादनमाथि भारतीय बजारमा भारी कर असुलिरहेको छ । यतिमात्र नभई भर्खरै कर बढाएको छ । यो पूर्णरुपमा अस्वीकार्य छ, भारतले तुरुन्त फिर्ता लिइयोस्।’

गएको १ जुनमा अब अमेरिकाले भारतसँगको कारोबारमा विशेष छुट फिर्ता लिएको थियो तब भारतले आफ्नो बजारमा अमेरिकी उत्पादनमा २८ प्रतिशत कर लगाउन सुरु गरेको थियो । 

ट्रम्प ‘अमेरिका फर्स्ट’ नीति लिएर हिँडिरहेका छन् । अर्थात् पहिला अमेरिकाको हित अनि मात्र बाँकि अरु चिज । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया