हिलो, रेड कार्पेट र ओली !

 असार २५, २०७६ बुधबार २०:५५:३४ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – आफन्तलाई नियुक्त गरेको भन्दै त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १३ जना पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा । 

घुस लिएर नतिजा फेरबदल गरेको आरोपमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका गोप्य शाखाका शाखा अधिकृत रामबहादुर कर्माचार्यसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा ।

कलेजको अनुमति रद्द गरिदिने धम्की दिएर घुस लिने त्रिभुवन विश्वबिद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय कीर्तिपुरका सहायक डीन प्राध्यापक डाक्टर शम्भुप्रसाद पटेलविरुद्ध विशेष अदालतमा मुद्दा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै महिना विशेष अदालतमा दायर गरेका यी तीन मुद्दाले देखाउँछ, देशकै जेठो त्रिभुवन विश्वविद्यालयको साख कति बाँकी छ ? भन्ने कुरा ।

तर पनि निसंकोच त्रिविले आफ्नो ६०औँ वार्षिकोत्सव धुमधामका साथ कीर्तिपुरमा मनायो । त्यो पनि हिलोमा रेड कार्पेट ओछ्याएर । त्यही रेड कार्पेटमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘क्याटवाक’ गरेको फोटो फेसबुक ट्विटरमा ‘भाइरल’ छ ।

पटक–पटक विभिन्न विवादमा मुछिएको त्रिभुवन विश्वविद्यालयले फेरि एक पटक हिलोमा रातो कार्पेट ओछ्याएर बेथितिको पराकाष्ठा छर्लङ्गै पारेको छ ।

स्थलगत रिर्पोटिङ !

बुधबार बिहान आफ्नो ६०औँ वार्षिकोत्सवमा त्रिविले तीन वटा कार्यक्रम राखेको थियो । पहिलो उपकुलपतिको नननिर्मित भवन उद्घाटन, दोस्रो भवन परिसरमै बनाइएको मन्दिर उद्घाटन र वार्षिकोत्सव विशेष बैठक ।

आधा घण्टा ढिलो गरी कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि परिसर पुग्नुभयो । प्रधानमन्त्रीकै लागि बालुवाटारदेखि कीर्तिपुरसम्मको सडकमा बाक्लो रुपमा प्रहरी परिचालित थिए ।

रातभरि पानी परे पनि बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भवनदेखि मन्दिरसम्म रेड कार्पेट बिछ्याइएको थियो । प्रधानमन्त्रीले विश्वविद्यालयको नवनिर्मित भवन अगाडि गाडिएका दुई झण्डा (नेपाल र त्रिवि) फुकालेर उद्घाटन गरेपछि मन्दिरतिर लाग्नुभयो ।

विश्वविद्यालय परिसरमा एउटा सानो मन्दिर उद्घाटनका लागि रेड कार्पेट बिछ्याइएपछि क्यामेरापर्सनले ‘फ्रेम’ मिलाएर प्रधानमन्त्रीको फोटो लिएका थिए । जुन ओली सरकारको थप आलोचनाका लागि ‘अस्त्र’ बने ।

हालै आइफा अवार्ड र भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षणको निर्णयबाट पछि सरेपछि देशकै जेठो विश्वविद्यालयको वार्षिक बैठकमा पुग्दा पनि प्रधानमन्त्री आलोचनाबाट बच्न सक्नु भएन ।

भवन र मन्दिर उद्घाटनपछि त्रिविको वार्षिकोत्सव बैठकमा सहभागी भएका प्रधानमन्त्रीले पत्रकारलाई झन निराश बनाउनुभयो ।

नयाँ भवन भएकाले व्यवस्थापन फितलो थियो नै । साउण्ड सिस्टम कमजोर बन्दा प्रधानमन्त्री बोलेको आवाज रेकर्ड गर्न उहाँको अगाडि ‘भ्वाइस रेकर्डर’ राख्न समेत कर्मचारी र सुरक्षाकर्मीले रोके । एउटा प्राज्ञिक थलोमा पुगेका प्रधानमन्त्रीसामु रेकर्डर राख्न पनि गणतन्त्रमा पाइँदैन भनेर मैले पहिलो पटक महसुस गरें।

विश्वविद्यालयको साख खस्काउने उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको बीचमा बसेका प्रधानमन्त्रीको भाषण लिखित थियो । तर उहाँले त्यसलाई लत्याउँदै मौखिक भाषण गर्न थाल्नुभयो ।

गल्ती गर्नेलाई प्रधानमन्त्रीले कारबाही गर्छु भन्दा पटक्कै विश्वास लागेन । किनकी उहाँकै अगाडि ‘बौद्धिक चोरी’को आरोप लागेका उपकुलपति खनियालाई कुनै डर थिएन । 

प्रधानमन्त्री आफैमाथि प्रश्न !

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चार ओटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त विद्वान हुनुहुन्छ । तर शिक्षाको २५ वर्षे रणनीति अन्तर्गत उच्च शिक्षाको सुधारका लागि सुझाव दिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बालुवाटारमै लुकाउनु भएको छ ।

त्रिविको ६०औँ वार्षिकोत्सव कार्यक्रम सम्भवतः अहिलेका उपकुलपति तीर्थ खनियाको अन्तिम कार्यक्रम हो । त्यो अन्तिम कार्यक्रमले प्रधानमन्त्रीलाई विवादबाट अलग राख्न सकेन ।

देश विकास र मार्गदर्शनको पहिलो घर मानिने विश्वविद्यालयको नेतृत्वमा जबसम्म दलको कोटाबाट पदाधिकारी नियुक्त गर्ने परम्परा हट्दैन । तबसम्म कूलपतिको हैसियतमा बसिरहने प्रधानमन्त्रीले देश विकास गर्न सक्नुहुन्न।

त्यसैले त्रिविको आगामी नेतृत्व प्रधानमन्त्रीले कसरी छान्नुहुन्छ ? दलको कोटाबाटै वा आफ्नै गोजीबाट ? त्यो हेर्न बाँकी छ । अनि त्यसैमा यो देशको उच्च शिक्षा र विश्वविद्यालयको भविष्य निर्भर छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया