शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएपछि चार शिक्षकसहित पाँच जना पक्राउ

 असार २६, २०७६ बिहिबार १२:४:२ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएको भन्दै चार जना शिक्षकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भीमदत्त नगरपालिका-१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारका क्रममा ज्यान गएपछि प्रहरीले प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरालाई पक्राउ गरेको हो । 

गएको असार १३ गते शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका कलौनीको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । उनको उपचारका क्रममा मंगलबार राति भारतको राममूर्ति अस्पतालमा ज्यान गएको हो ।  

बालकको ज्यान गएपछि घटनाको अनुसन्धानका लागि प्रधानाध्यापकसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताउनुभयो । त्यस्तै गएको असार १३ गते शिक्षकले कुटपिट गरेको भनिएका कलौनीको १८ गते मात्रै स्वास्थ्य अवस्थाबारे जानकारी आएकाले त्यसबारे पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

विद्यालय बाहिर साथीभाइसँग झैझगडा गरेको विषयलाई आधार बनाएर शिक्षकले कुटपिट गरेको माधवका साथी आयुष विकले बताउनुभयो। 

साथीभाइसँग झैझगडा गरेको विषयमा अनुशासन सिकाउन दुई थप्पड हानेको शिक्षकले स्वीकार गरे पनि मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको ज्यान गएको आरोप लगाएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया