विश्वकप क्रिकेट : अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा

 असार २६, २०७६ बिहिबार २२:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेटको जन्मभूमि मानिने इंग्ल्याण्डले विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दबदबा तोड्न सफल भएको छ ।

घरेलु भूमिमा भएको १२औं संस्करणको विश्वकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा चौथो पटक फाइनलमा पुगेको हो ।

यसअघि तीन पटक फाइनलमा पुगे पनि इंग्ल्याण्ड अभागी सावित भएको थियो । यो संस्करणको उपाधिका लागि इंग्ल्याण्डले न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

गत संस्करणको उपविजेता न्यूजिल्याण्डले पनि अहिलेसम्म विश्वकपको उपाधिको स्वाद चाख्न पाएको छैन । पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

बर्मिङ्घममा भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर एक बलमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

जेसन रोय र जोनी बेयरस्टोले पहिलो विकेटका लागि १२४ रनको साझेदारी गरेपछि इंग्ल्याण्डको जितको आधार बनेको थियो । व्यक्तिगततर्फ रोयले ८५ रनको योगदान दिए भने बेयरस्टोले ३४ रन जोडे । जो रुटले अविजित ४९ रन बनाए भने ओयन मार्गानले ४५ रनको योगदान दिए ।

इंग्ल्याण्डको दुई विकेट प्याट कमिन्स र मिचेल स्टार्कले लिएका थिए ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २२३ रन बनाएको थियो । अष्ट्रेलियाको टप अर्डर खराब रह्यो । १४ रन बनाउँदा उसले तीन विकेट गुमायो । यस क्रममा आरोन फिन्चले खाता पनि खोल्न सकेनन् भने डेविड वार्नरले नौ रन र पिटर ह्यान्ड्सकम्बले चार रन जोडे ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथ र एलेक्स क्यारीले १०३ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ उकासेका थिए । क्यारी ४६ रन बनाएर आउट भए । त्यसको लगत्तै क्रिजमा आएका मार्कस स्टोनिसले खाता खोल्न सकेन ।

ग्लेन म्याक्सवेलले २२ रन जोडे भने प्याट कमिन्सले ६ रन मात्र बनाए । मिचेल स्टार्कले २९ रन बनाए । मिचेल स्टार्क आउट हुनुपूर्व स्टिभ स्मिथ ८५ रनको योगदान दिएर आउट भए ।

पहिलो विश्वकप उपाधि जित्ने लक्ष्य बोकेको इंग्ल्याण्डका लागि क्रिश वक्स र अदिल रसिदले तीन-तीन विकेट लिए भने जोफ्रा आर्चरले दुई विकेट हात पारे ।

विश्वकपको फाइनल आइतबार लर्ड्समा हुनेछ । विश्वकप क्रिकेट २०१९ को उपाधि न्यूजिल्याण्ड वा इंग्ल्याण्ड जसले जिते पनि नयाँ विजेता हुने पक्का भएको छ । 

कसले कति पटक जिते उपाधि ?

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया