'गाेली हान्नुअघि निरकुमारले सञ्जीव मेरो कति पिछा गर्छस् अब छोडी दे भनेका थिए'

 असार २७, २०७६ शुक्रबार २१:८:५६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट हटिया बजार हाराहारी ६ सय मिटर मात्रै टाढा छ । 

बिहानैदेखि झरी परेकाले हटियामा सागसब्जी बेच्नेको पातालो उपस्थिति थियो । यहाँ हप्ताको दुई दिन हाट बजार लाग्ने भएकाले यो ठाउँको नाम नै हटिया हुन गएको हो । हाटबजारमा हरियो तरकारीको व्यापार बढी हुने गरेको छ । 

झरीका कारण बजार क्षेत्रमा रहेका साना छाप्राहरुमा सब्जी बेच्न आएका व्यापारीहरु मात्रै ओतिएर बसिरहेका थिए । नगरपालिकाको कार्यालय नजिकै भएको कारण पनि बजार लाग्ने ठाउँ साँघुरो छ । त्यसले पनि बजार वरपर धेरै बाक्लो बस्ती छैन । 

बजारको बीचमा देउराली–एअरपोर्ट जाने सडक छ । सडकमा टेम्पो, टाटासुमो र ट्याक्टर गुडिरहेका थिए । सडक नजिकै देब्रे साइडमा पाँचघरे होटल छ ।बुधबारका दिन हटिया लाग्ने गरेको भए पनि पानी परेका कारण होटलमा खासै मान्छेको उपस्थिति थिएन । त्यही समयमा घुम्दै एक जना नेपाल प्रहरीका घुमुवा प्रहरी जवान सञ्जिव राई होटल अगाडि आइपुगे । 

स्थानीयले के देखे, के सुने ?

प्रहरी जवान सञ्जिवको पछि–पछि विप्लव जिल्ला इन्चार्ज निरकुमार राई पनि त्यही होटल अघि आइपुग्छन् । निरकुमार त्यहाँ आउँदा सञ्जीव भने भोजपुर नगरपालिकाको कार्यालय जाने गेटनजिकै रहेको प्रत्यक्षदर्शी सीता विक बताउनुहुन्छ । 

निरकुमार राइले होटलअगाडि सशस्त्र प्रहरी बल टक्सार गुल्मका एक जना जवानसँग भेट हुन्छ । ती जवानसँग गफ गर्दै आफ्नो दाजु पनि सशस्त्र प्रहरीमा नै रहेको भन्दै दुवैले मोबाइल नम्बर आपसमा साटासाट गरेर छुटेको प्रत्यक्षदर्शी विकले बताउनुभयो ।  

त्यसपछि प्रहरी जवान सञ्जीव राईसँग निरकुमारको भेट हुन्छ । हात मिलाउदै दुवै जना गफ गर्दै पाँचघरे होटलभित्र चिया खान पस्छन् । होटलको काउन्टर नजिकै बसेर प्रहरी जवान सञ्जीव राईले २ कप चिया मगाएका थिए । सञ्जीवले चिया मगाउँदा निरकुमारले भने चिया नखाने भन्दै इन्कार गरेको होटल सञ्चालकले सुनेको बताउँछन् ।  

चिया आएपछि दुवै जना होटलको दाहिनेपट्टि रहेको टेबलमा पर्दा लगाएर गफिँदै थिए । त्यही क्रममा विप्लवका जिल्ला इञ्चार्ज रहेका निरकुमारले ‘सञ्जीव मेरो कति पिछा गर्छस् अब मेरो पिछा गर्न छोडी दे’ भन्ने शब्द आफूहरुले सुनेको होटल सञ्चालक बताउँछन् । 

होटलमा के भयो ?

बिहान झण्डै ८ः१५ बज्दै थियो । जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन बज्छ । फोन गर्नेले ‘पाँचघरे होटलमा विप्लवका कार्यकर्ताहरु बसिरहेका छन्’ भनेर खबर गर्छ । 

विप्लव समूहका नेता नीरकुमार राई

यो खबर गर्ने अरु कोही नभएर भोजपुरमा विप्लव समूहको गतिविधि बारेमा जानकार घुमुवा प्रहरी जवान सञ्जीव राई नै थिए । विप्लवका कार्यकर्ताहरु होटलमा रहेको जानकारी पाए लगत्तै नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा प्रहरीहरु खटिन्छन् । प्रहरीहरु खेमनाथ भट्टराई, सुरेन्द्र माझीलगायतको टोली केही बेरमा नै पाँचघरे होटलमा पुग्छ । त्यसो त उनीहरु परिचित मात्रै होइन राम्रैसँग चिनेकै साथी थिए । 

स्थानीय र प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरी जवान सञ्जीव ‘मर्निङ्ग वाक’मा निस्किएका थिए । प्रायः अरु दिन पनि सञ्जिव ‘मर्निङ वाक’मा निस्कने गरेका थिए । ‘मर्निङ्ग वाक’मा निस्किएका राईलाई विप्लव समूहका इञ्चार्ज ‘प्रशान्त’ले भोजपुर बजारदेखि नै पिछा गर्दै आएका थिए । 

निरकुमार केही दिनअघिबाट सदरमुकाम आसपासमा नै शेल्टर लिएर बस्दै आएका थिए । केही  समयअघि राईसहित श्रीमती र छोरा भोजपुर नगरपालिकाको कोदार भन्ने ठाउँमा बस्दै आएको भए पनि पछिल्लो केही दिनदेखि भने भोजपुर बजारको बैंक रोड नजिकै डेरा लिएर बस्दै आएका थिए । पटक–पटक कोठा सर्दै हिँडेकाले निरकुमारले केही लामो समयसम्म भेट नभएका साथीहरु भेटिँदा आफू विदेश गएको र त्यहाँबाट फर्केको केही दिन मात्रै भएको भन्ने गरेका थिए ।

प्रहरी जवान सञ्जीव राई

चिया खाएर बाहिरिँदै गर्दा हटिया नजिक पुगेपछि भने दुवै जना केही बेर उभिएरै कुरा गरेको होटल सञ्चालक बताउँछन् । कुराकानीकै बीचमा विप्लव समूहका इञ्चार्ज निरकुमार ‘प्रशान्त’लाई शंका लाग्छ, ‘कतै मलाई पक्रिन त खोज्दै छैन ?’ उनी भाग्ने बहाना गर्दै पिसाब फेर्न जान्छु भनेर निस्कन खोज्छन् । तर प्रहरी जवान राईले ‘तपाईँ नजानोस् मैले साथीहरु बोलाएको छु ।’ भन्दै रोक्न खोज्छन् । 

प्रहरी जवान राईले त्यस बेलासम्म प्रशान्तलाई पक्राउ गर्ने योजनाअनुसार जिल्ला प्रहरी कार्यालयबाट टोली झिकाउन भ्याइसकेका थिए । होटलमा रहेकै बेला प्रहरी जवान राईले कन्ट्रोल रुममा खबर गरेर थप प्रहरी बोलाएका थिए । प्रहरी जवान राईले झुक्काएर नियन्त्रणमा लिन खोजिरहेका थिए भने प्रशान्त उनलाई छलेर भाग्न खोजिरहेका थिए । 

प्रहरी आउँदैछ भन्ने थाहा पाएपछि निरकुमारले भाग्ने प्रयास गरे । निरकुमार भाग्न खोजेपछि प्रहरी जवान राईले उनलाई झम्टिएर पक्रिन खोजे । नियन्त्रणमा लिन खोज्दा दोहोरो भनाभन र तानातान भयो । तानतान हुँदै गर्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोली पाँचघरे होटल नजिकै आइपुग्छन् ।  

जिल्ला प्रहरी कार्यालयबाट आएका सादा पोशाकका प्रहरी देखेपछि भने आत्तिएका निरकुमारले प्रहरी जवान राईमाथि गोली प्रहार गर्छन् । गोली लागेका प्रहरी जवान राई होटलको र्‍याकमा ठोक्किएर ढलपलिँदै सडकमा गएर ढल्न पुग्छन् । यतिबेला लगभग बिहानको ८ः४५ बजिसकेकाे थियो ।  

प्रहरी जवान राईलाई गोली प्रहार गरेर विप्लव नेता निरकुमार भाग्दै थिए । त्यही बेला पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनीविरुद्ध जवाफी फायर खाेले ।निरकुमारलाई पनि खुट्टामा गोली लाग्यो ।

प्रत्यक्षदर्शीका अनुसार गोली लागेर ढलेका निरकुमारलाई प्रहरीले समातेर टेम्पोमा राखेको थियो । त्यतिबेला उनले ‘मलाई गाह्रो भयो छोडी दे’ भन्दै गरेको सुनेको स्थानीय बताउँछन् । तर जिल्ला अस्पताल भोजपुरमा पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको थियो । स्रोतका अनुसार अत्याधिक रक्तस्राव हुँदा उनको बाटैमा ज्यान गएको हो ।

जिल्ला अस्पताल र घटनास्थलको दूरी जम्मा २ किलोमिटर छ । त्यसअघि नै प्रहरी जवान राईको पनि निधन भइसकेको हुन्छ । 

सीडीओको भनाइ के छ ?

विप्वलका कार्यकर्ताले प्रहरी जवानमाथि गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर खोलेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । 

भोजपुरका प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले पनि सुरक्षाकर्मीमाथि नै गोली प्रहार भएपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनुहुन्छ ।  

प्रहरीले विप्लवका जिल्ला इञ्चार्ज नीरकुमारको साथबाट एक थान चिनियाँ पेस्तोल, ६ राउण्ड गोली र त्यही पेस्तोलको म्याग्जिन बरामद गरेको जनाएको छ ।  

गोली हानाहानमा प्रहरी जवान र विप्लव कार्यकर्ताको ज्यान गएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । होटल, जिल्लाका प्रमुख नाकाहरु तथा यातयातको साधानहरुमा समेत कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खतिवडाले भन्नुभयाे, ‘सुरक्षा व्यवस्था कडा बनाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत गस्ती गर्न थालेको छ ।’

स्थानीय नेता के भन्छन् ?

भोजपुरको यो घटनाले देश फेरि द्वन्द्वतर्फ फर्कन लागेको हो कि भन्ने चिन्ता बढाएको छ । विकासको क्रान्ति गर्ने बेलामा देशलाई द्वन्द्वमा धकेल्न नहुने जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु बताउँछन् । 

नेकपा भोजपुरका जिल्ला सदस्य शरण राईले विप्लवलाई वार्ताको टेबलमार्फत समाधान खोज्न आग्रह गर्नुहुन्छ । ‘देशलाई द्वन्द्वमा धकेल्नु हुँदैन, यसको एक मात्र समाधन भनेको वार्ता हो’, उहाँले भन्नुभयो,  ‘सरकार र विप्लव समूह दुवैले वार्ता मार्फत समाधान खोज्नुपर्छ ।’  

हत्या र हिंसाले देशको विकास नहुनेभन्दै यसको गम्भीर भएर समाधानको उपाय खोज्नुपर्ने उहाँ बताउनुहुन्छ ।  

भोजपुरमा विप्लव गतिविधि

गएको महिना टेम्केमैयुङ्ग गाउँपालिका वडा नम्बर–२ मैयुङ्ग क्षेत्रको धोत्रेमा सुरक्षाकर्मीसँगको मुठभेडका क्रममा गोली लागेर घाइते भएका ‘विप्लव’ समूहका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएपछि जिल्लामा ‘विप्लव’ समूहको गतिविधि ह्वात्तै बढेको स्रोतको दावी छ ।  

गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका-२, कुदाककाउलेका ३२ वर्षीय घिमिरेको ज्यान गएको थियो । 

त्यस्तै, गएको १८ गते टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा नचिनेको मान्छेकाे समूहले तोडफोड तथा आगजनी गरेको थियो । वडा कार्यालयको ताला फोडेर कार्यालयमा रहेको महत्वपूर्ण कागजातलगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको थियो ।

नचिनेको समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामग्री, महत्वपूर्ण कागजातहरु जलाएको थियो । त्यही कार्यालयको परिसरभित्रै बमजस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय पारिएको थियो ।  

उनीहरुले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथैमा लिएर गएका थिए । त्यो काम ‘विप्लव’ समूहले नै गरेको प्रहरी दावी गर्छ । त्यही दिन भोजपुर सदरमुकामको देउराली सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको बम पनि फेला परेको थियो । त्यो बमलाई नेपाली सेनाले डिस्पोज गरेको थियो । 

भोजपुरमा पछिल्लो समय विप्लवका गतिविधि तीव्र रहेकाे छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया