देशैभर बाढी र पहिरोको कहर : १७ जनाको ज्यान गयो, ७ बेपत्ता

 असार २७, २०७६ शुक्रबार २०:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारी साधन तस्बिर- रासस

काठमाण्डौ – लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि १७ जनाको ज्यान गएको छ ।  बाढी पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । त्यस्तै बाढी पहिरोमा परि ७ जना घाइते भएका छन् ।

काठमाण्डौमा एकै परिवारका ३ जनाको ज्यान गयो

घरको पर्खाल भत्किँदा काठमाण्डौको मूलपानीमा एकै पििरवारका तीन जनाको ज्यान गएको छ । मूलपानीको बाबाचोकको नजिकै रहेको घरको पर्खाल भत्किँदा बारा देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती रहेकी ३० वर्षीया   नितु यादव र १३  वर्षीय कुन्दन यादवको ज्यान गएको हो ।

खोटाङमा आमा र दुई छोराको शव भेटियो

खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको पहिरोमा परि हराएका तीन जनाको शव भेटिएको छ । शुक्रबार बिहान पहिरोले घर बगाउँदा हराएका २९ वर्षीया रेखा राईसँगै उहाँका ४ वर्षीय छोरा रमण र ७ महिने छोरा रोजनको शव निकालिएको प्रहरीले जनाएको छ । रेखाका श्रीमान् विष्णु भने भागेर बाँचेका प्रहरीले जनाएको छ । 

भोजपुरमा दुई जनाको ज्यान गयो

यस्तै, पहिरोले पुरिएर भोजपुर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनीको ज्यान गएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् ।

ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टामा पञ्चलाल जिम्माको घर पहिरोमा पुरिँदा ११ वर्षका छोरा सरोज जिम्माको ज्यान गएकोे बाग्मती गाउँपालिकाले जनाएको छ । अर्को छोराको भने उद्दार गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।

यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदम कुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुलीको फिक्कल गाँउपालिका १ महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गोठमा गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले गाठ बगाउँदा सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ का ११ वर्षीय निखिल पटेलको बाढीमा डुबेर ज्यान गएकोे छ । सिङ्गीयाही खोलामा आएको बाढीबाट दाउरा तान्न खोज्दा उनी डुबेकाे प्रहरीले जनाएको छ । 

यस्तै, धादिङको गजुरी गाउँपालिका ४ बालुवाडाँडामा  घर भत्किँदा कृष्णबहादुर तामाङकी ८ वर्षीया छोरी अस्मिताको ज्यान गएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् ।

यस्तै मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका ६ का उमेश यादवको ज्यान गएको छ । थाहा नगरपालिका वडा नम्बर–३, मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको ज्यान गएको छ ।

दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीय बासिन्दाले उद्दार गरी अस्पताल पुर्‍याएका थिए । उपचारका क्रममा अस्पतालमा उनको ज्यान गएको हो ।

मकवानपुरकै कैलाश गाउँपालिका–५, कालिखोलामा आएको पहिरोमा परि स्थानीय तारामाया पाख्रिन हराइरहेको प्रहरीले जनाएको छ ।  

भीमफेदीका २६ जना उद्धारको पर्खाइमा

मकवानपुरको भीमफेदी गाउंँपालिका वडा नम्बर–५, माथिल्लो दमारका २६ जना पहिरोको बीचमा फसिरहेका छन् ।

लगातार परेको पानीले घर वरिपरिबाट पहिरो गएको र पहिरोको बीचमा पाँच घरका २६ जना उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । स्थानीय सोमबहादुर घलान लगायतका ५ जनाको घर परिवारका २६ जना सदस्य जोखिमयुक्त ठाउँमा रहेका छन् ।

बाँध फुटाएर रतुवा खोला गाउँ पस्यो

यस्तै, हिजो बेलुकी बाढीले डाईभर्सन बगाउँदा मोरङमा मोटरसाइकलमा आएका एक जनालाई खोलाले बगाएको छ । उनको पहिचान खुलेको छैन । यसैबीच मोरङको रतुवा खोला बाँध फुटाएर गाउँ पसेको छ । रतुवामाई नगरपालिका वडा नम्बर १० को मंगलबारेबाट बाँध फुटेर खोला गाउँ पसेपछि ४० घर डुवानमा परेका छन् ।

त्रियुगाको बाँध जोखिममा 

यस्तै, उदयपुरको त्रियुगा नदीमा रहेको बाँध जोखिममा परेको छ । उदयपुरकै कटारी नगरपालिका १४ भदौरेखोलामा बाढी आएर सडकमा पसेपछि बेतिनी र घुर्मीमा गाडी चल्न सकेका छैनन् ।

डुबानमा काठमाण्डौ उपत्यका 

लगातारको वर्षाका कारण  काठमाण्डौ उपत्यकाको कलंकी, थानकोट, नैकाप, कीर्तिपुर, तीनकुने लगायत ठाउँका केही क्षेत्र डुबानमा परेका छन् ।  कीर्तिपुरको कुटुम्ब बस्तीबाट ३२ जनाको उद्धार गरिएको छ ।  त्यस्तै कलंकी खसी बजारनजिकै बल्खु खोलाको बाढी बस्तीमा छिरेपछि उद्धारको काम भैरहेको छ । 

हनुमन्ते खोलामा आएको बाढीले  बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ ।सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोट बस्ने ३२ वर्षीय सन्तोष पहरीलाई उर्लिएर आएको बाढीले बगाएको थियो । 

खोलाले बगाएलगत्तै महानगरीय प्रहरी प्रभाग बालकोट भक्तपुरको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

जनकपुर पनि  जलमग्न भएको छ । जनकपुरमा रहेको प्रदेश दुईको मन्त्रिपरिषद कार्यालय तथा जनकपुर अञ्चल अस्पताल परिसर पनि जलमग्न भएको छ । 

तस्बिर - रासस

यस्तै,रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा धेरै बस्ती डुबानमा परेका छन् ।

यस्तै रुपन्देहीको तिनाउ नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बसोबास गरेका झण्डै चार हजार घरधुरी बाढीको उच्च जोखिममा छन् । रुपन्देहीमा तिनाउ, कञ्चन, दानव, रोहिणी, घोडाहा, डण्डा, बघेला नदीमा पानीको सतह बढेको छ ।   

विराटनगर जलमग्न

प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङका जिल्लाहरु बाढीका कारण धेरै प्रभावित भएका छन् । विराटनगर महानगरपालिकाको सिँगिया खोला किनारमा बसोबास गर्ने ५० परिवारका २ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । कटहरीको १, २, ३, ४ नम्बर वडाका धेरैजसो बस्ती डुबानमा परेको छ ।   कटहरी र धनपालथानको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा आएको बाढी बस्तीमा पसेपछि डुवान भएको हो । 

पानीको सतह बढेसँगै लोहन्द्रा खोलो गाउँ पसेपछि सयौं परिवार असुुरक्षित बनेका छन् । कटहरी र धनपालथान जोड्ने पक्की पुल नजिक खेला थुनिने सम्भावना बढेपछि एक्स्काभेटरले खोल्ने काम भइरहेको छ । मोरङमा बाढीबाट सात सय ५० बढी परिवार प्रभावित भएका छन् । 

यस्तै, बाराका विभिन्न क्षेत्र जलमग्न भएका छन । निजगढ नगरपालिकाको वडा नम्बर ६,७ र ८ का १० भन्दा बढी घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाराको दुधौरा खोलामा पानीको बहाव बढेको छ । जितपुर सिमरा उपमहानगरपालिकाको दुईवटा वडाको झण्डै ६० परिवारलाई सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको छ ।

सडक बन्द

झरीका कारण पहिरो र बाढीले देशका विभिन्न सडक बन्द भएका छन् । बीपी राजमार्गको सिन्धुलीको खनियाखर्क र कमेरेफाँटमा पहिरो जाँदा गाडी रोकिएका छन् । यस्तै बीपी राजमार्गकै काभ्रेमा पनि सकड अवरुद्ध भएको छ । 

बाटो बन्द हुँदा पूर्वी तराईसहित रामेछाप, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट काठमाण्डौ आउने जाने गाडी र यात्रु बीच सडकमा नै अलपत्र परेका छन् । यस्तै हेटौडालाई काठमाण्डौसँग जोड्ने तीनवटै सडकहरु ललितपुरको महाकाल–हेटौंडा राजमार्ग, कान्तिपथ र त्रिभुवन पथ पनि अबरुद्ध भएका छन् । 

यस्तै गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि बन्द छ । रौतहटको चाँदी खोलामा आएको बाढीका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहट खण्ड पनि अवरुद्ध छ ।

पाँचथरको फाल्गुनन्द–३, पाङग्रेभिरमा पहिरो जाँदा त्यहाँ पनि गाडी चलेका छैनन् । चितवनको नारायणगढ माडी सडक खण्डमा गाडी चल्न सकेका छैनन् । पृथ्वी राजमार्ग खण्डको विभिन्न ठाउँमा सडक अवरोध भएको छ । पृथ्वी राजमार्ग माथिबाट खनिएका सडकहरुको लेदो सडकमा आएर राजार्ग अवरुद्ध भएको हो ।

धादिङको बेनिघाट, गल्छी लगायतका ठाउँमा सडक अवरुद्ध भएपछि लेदो हटाइ एकातफी गाडी चलाइएको प्रहरीले जनाएको छ । यस्तै धनकुटाको पाख्रीवासबाट लेगुवा हुदै भोजपुर जाने बाटो पनि अवरुद्ध भएको छ । पूवपश्चिम राजमार्गको सनुसरी रामधुनी–६ मा पनि सडक अवरुद्ध छ । 

यस्तै लम्जुङ–मनाङ सडकमा पनि गाडी चल्न सकेका छैनन् । यस्तै कलैया–वीरगञ्ज सडक खण्डको नौतन गण्डक, प्रसौनी र भलुहीमा सडकमा पानी जमेकाले गाडी नचलेका प्रहरीले जनाएको छ ।

हेर्नुहाेस् कहाँ कति क्षति ?

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया