फेसबुकमाथि साढे ५ खर्ब रुपैयाँ रकमको जरिबाना सिफारिस

 असार २८, २०७६ शनिबार १५:१४:३१ | एजेन्सी
unn.prixa.net

अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएकाे विषयमा सामाजिक सञ्जाल फेसबुकमाथि साढे पाँच खर्ब नेपाली रुपैयाँ बराबरको जरिवाना सिफारिस गरेको छ ।  

यो कुनै प्रविधि कम्पनीमाथि गरिएकाे अहिलेसम्मकै ठूलो जरिबाना रकम हो । यसअघि सन् २०१२ मा गुगलमाथि दुई अर्ब ४१ करोड ३३ लाख २२ हजार नेपाली रुपैयाँभन्दा बढी जरिबाना तोकिएको थियो । तर फेसबुकमाथि लगाइएको जरिबानामाथि भने अमेरिकी न्याय विभागले अन्तिम फैसला गर्नेछ । 

गएको मार्च २०१८ मा फेसबुकले व्यक्तिगत सूचना चुहाएकाे सबैभन्दा ठूलो मामला सार्वजनिक भएको थियो । एफटीसीले सामाजिक सञ्जाल फेसबुक आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचनाकाे गोप्यता र सुरक्षामा दोषी भएको बताएको छ । 

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकालाई व्यक्तिगत सूचना चुहाएको विषयमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग अमेरिकी संसदमा उपस्थित भएका थिए । त्यसपछि एफटीसीले जाँच सुरु गरेको थियो । 

फेसबुकले आफूविरुद्ध जाँच सुरु भएपछि कानुनी सम्झौताको लागि झण्डै आठ अर्ब रुपैयाँको प्रस्ताव राखेको थियो । एफटीसीले पनि व्यक्तिगत सूचना चुहावटकाे मामलासम्बन्धी जाँचपड्ताल सकाउन यही शर्त अनुसार कम्पनीको जरिबाना रकम तय गरेको थियो । फेसबुकमाथि ताेकिएको जरिबाना रकम उसले सन् २०१८ मा गरेकाे कमाइको ९ प्रतिशत मात्र हो । 

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले फेसबुकका आठ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत सूचना प्राप्त गरेको थियो । क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई प्रभावित गर्नका लागि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचनाकाे प्रयोग गरेको थियो । फेसबुकलाई पनि यी सबै कुराको जानकारी थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया