पाँचथर युवती हत्या प्रकरण: पक्राउ परेका लाओतीलाई बाल सुधार गृहमा पठाउन आदेश

 असार २८, २०७६ शनिबार १६:३२:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - हिलिहाङ गाउँपालिका–६ सिते जङगलमा भएको सुजाता तामाङको हत्या आरोपमा पक्राउ परेका घनेन्द्र लाओतीलाई बाल सुधार गृहमा पठाउन जिल्ला अदालत पाँचथरले आदेश दिएको छ ।

गएको असार ३ गते इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी सुजाता तामाङको घाँटी रेटी हत्या भएको थियो । हत्या गरेको आरोपमा पक्राउ परेका हिलिहाङ–६ का घनेन्द्र लाओती नाबालक भएको भन्दै पाँचथर जिल्ला अदालतले बाल सुधार केन्द्रमा पठाउन आदेश दिएको हो ।

जिल्ला न्यायधीश मनोज केसीको इजलासले हत्या आरोपित लाओतीको जन्म दर्ता लगायतका प्रमाणले उनी बालक भएको ठहर गर्दै बाल सुधार गृहमा पठाउन आदेश दिएको हो । २१ वर्षीय तामाङको हत्या गरेर लाओतीले उनको साथबाट ८१ हजार ७ सय रुपैँया नगद समेत लुटेको र पैसा लुट्नकै लागि हत्या गरेको बयान दिएका थिए ।

लाओतीको उमेर १९ वर्ष भन्दै सर्वस्वसहित जन्म कैदको माग गर्दै जिल्ला अदालत पाँचथरमा अभियोग पत्र दर्ता गराइएको थियो । अदालतमा लिइएको बयानका क्रममा उनले आफू १७ वर्ष मात्रै पुगेको बताएपछि जन्मदर्ता र उनले अध्ययन गरेको विद्यालयको प्रमाण जुटाएर हेर्दा १७ वर्ष ७ महिना मात्रै उमेर देखिएको अदालतले जनाएको छ । बालबालिकासम्बन्धी ऐनको दफा नम्बर २४ अनुसार उनलाई सुधार गृह पठाउने आदेश जारी गरेको अदालतले जनाएको छ ।

इलाम घर भएकी तामाङ पाँचथरको हिलिहाङ–३ गोपेटार बजारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत थिइन् । असार ३ गते स्थानीय थलाचुङ र रातमाटेमा फाइनान्सले गठन गरेको समूहको मासिक बैठकबाट ब्याज संकलन गरेर कार्यालय फर्कँदै गर्दा तामाङको हत्या भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Yubraj paudel

    July 19, 2019, 6:02 a.m.

    हरे दैव ! हत्याको बदलामा सम्मान , बहिनीले प्रतिकार गरेको भए त उनलाई जेल नै पो हुने रहेछ / यो कस्तो छुट हो हत्यारालाई ??

  •  0 Reply

तपाईको प्रतिक्रिया