भाेजपुरमा डाक्टर छन्, उपचार छैन: बिरामीलाई हेलिकोप्टर चढ्नुपर्ने बाध्यता

 असार २९, २०७६ आइतबार १४:३०:३० | बुद्ध तामाङ
unn.prixa.net

भाेजपुर – रामप्रसाद राई गाउँपालिकाकी कल्पना राई भोजपुर नगरपालिका वडा नम्बर-९ को भोटेपसलमा भाडामा बस्दै आउनुभएको थियो । उहाँलाई राति  सुत्केरी बेथाले च्याप्न थाल्यो । भोजपुर नगरपालिका–९ बाट अस्पताल पुग्न झण्डै ८ देखि १० मिनेट लाग्ने भए पनि उहाँ पुग्न सक्नुभएन । परिवारको सहयोगमा कोठामा नै बच्चा जन्माउनुभयो ।

छोरा जन्मिएपछि सबैमा खुशी छाएको थियो, तर उहाँको र परिवारको खुशी धेरै लामो समय टिक्न सकेन । बच्चा जन्माएको लामो समयसम्म पनि रगत जान रोकिएन । उहाँलाई झन् गाह्रो भयो । 

कल्पनालाई मध्यरातमा नै जिल्ला अस्पतालमा लगेर भर्ना गराइयो । उपचारको लागि भर्ना गराइए पनि जिल्ला अस्पताल भोजपुरमा उपचार सम्भव भएन । डाक्टरले उपचार सम्भव नभएपछि सुविधा सम्पन्न अस्पताल लैजान भने । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको ‘एयर लिफ्ट’ बाट उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरबाट तत्कालै विराटनगरको नोबेल अस्पतालमा पुर्‍यायो । समयमै उपचार पाएर उहाँ बाँच्नुभयो ।

कल्पना राई त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । भोजपुरमा उपचार गराउन निकै गाह्रो छ ।

‘जिल्लामा सुविधासम्पन्न अस्पताल छैन । यातायातको साधन सहज रुपमा सञ्चालनका लागि सडकको अवस्था नाजुक छ’, भोजपुर नगरपालिका–९ का बिर्खबहादुर तामाङले भन्नुभयो, ‘हवाइ उडानको समेत कुनै टुंगो छैन । रातिको समयमा बिरामी परेमा भोलिपल्ट बिहानसम्म पर्खनै पर्छ, जिल्ला अस्पताल आफैँ बिरामी छ ।’

अस्पतालकाे नाममा एउटा मात्र जिल्ला अस्पताल छ । पहिले यो अस्पतालमा डाक्टरसम्म बस्दैनथे । तर, अहिले दरबन्दीभन्दा बढी डाक्टर छन् । तर अस्पतालले दिने सेवा, सुविधा र स्वास्थ्य सेवा प्रभावकारी छैन । 

जिल्ला अस्पतालका लागि आवश्यक ५० शैयाको नयाँ भवन बन्दैछ । अस्पतालमा स्वास्थ्यकर्मी भए पनि आवश्यक उपकरण र साधनको अभावका कारण बिरामीलाई अन्यत्र ठूला शहरको स्वास्थ्य संस्थाले जस्तो सेवा दिन नसकिएको जिल्ला अस्पताल भोजपुरका सूचना अधिकारी राजेन्द्र राउतले बताउनुभयो । राउतले भन्नुभयो, ‘जिल्ला अस्पतालको नाम मात्र लिएर हुँदैन, त्यहाँ आवश्यक दक्ष जनशक्ति, उपकरण र सामग्री हुनुपर्छ ।’

कुरामै सीमित ब्लड बैंक 

जिल्लामा ब्लड बैंक सञ्चालन गर्ने योजना कुरामै सीमित भएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले ब्लड बैंक स्थापनको लागि अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय लगायत सेवा प्रदायक प्रतिनिधिहरुसँग पटक–पटक छलफल गरे पनि आर्थिक तथा प्राविधिक कठिनाइ भन्दै टार्ने गरिएकाे छ । समय–समयमा ब्लड बैंक सञ्चालनका विषयमा चर्चा चल्ने र त्यत्तिकै सेलाउने गरेको छ । सुत्केरी महिला वा अन्य बिरामीलाई रगत आवश्यक परेमा जिल्लाका सुरक्षाकर्मी र आफन्तले रगत दिनुपर्छ । 

ब्लड बैंक स्थापना हुन नसकेपछि जिल्ला अस्पताल भोजपुरले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जवानहरु तयारी अवस्थामा राख्ने गरेको छ । आवश्यक परेको समयमा खबर गर्ने, बलड दिन लगाउने गरेको जिल्ला अस्पताल स्रोतले बताएको छ । 

रगत सञ्चय गरेर राख्ने व्यवस्था नभएकै कारण कतिपय बिरामीको रक्त समूहको रगत पाइँदैन र बिरामीले मृत्युवरण गर्नुको विकल्प छैन । नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रशासन कार्यालय र अस्पताल विकास समिति ब्लड बैंक सञ्चालनको विषयमा पछिल्लो समय मौन छन् । 

भर हुँदैन हवाइ उडानको

भोजपुरको लागि नेपाल वायु सेवा निगमको जहाजले काठमाण्डौ र विराटनगरको उडान कम मात्र गर्छ । त्यो पनि उडान नियमित हुँदैन । कहिले मौसम बिग्रेर उडान स्थगित त कहिले हावा चलेर र कहिले जहाज नै बिग्रेर । बिरामी भएको अवस्थामा एक मात्र भरपर्दो साधन भनेको हेलिकप्टर हो ।

‘बिरामी परेपछि ऋण काढेरै भए पनि हेलिकप्टर चार्टर गर्न बाध्य हुनुपर्छ’, षडानन्द नगरपालिका–९, किमालुङ्गका जितबहादुर तामाङले भन्नुभयो, ‘सडक राम्रो छैन, स्टेचरमा बोकेर ल्याउनुपर्छ, एम्बुलेन्समा लैजाँदै गर्दा मर्छन् कि भन्ने डर हुन्छ ।’

नाइट भिजन हेलिप्याड बनेपछि रातमा उद्धार 

नाइट भिजन हेलिप्याड बनेपछि जिल्लामा विपद्को समयमा उद्धार गर्न दिन पर्खिनुपर्ने बाध्यता हटेको छ । नेपाली सेनाको फर्स्ट रैफल गणको कम्पाउन्डमा नाइट भिजन हेलिप्याड निर्माण गरेपछि रातको समयमा पनि विपदमा परेकाहरूको उद्धार गर्न सहज भएको हो ।

‘विपदमा परेकाहरु साथै सुत्केरी जोसुकैलाई रातको समयमा पनि उद्धार गर्न सकिन्छ । नेपाली सेनाको गणमा नाइट भिजन हेलिप्याड निर्माण भैसकेको छ’ प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भन्नुभयो, ‘सुरक्षाका कारण र हेलिप्याडमा रातका लागि चाहिने सामग्री जडान गरेर फर्स्ट रैफल गणको परिसरमा हेलिप्याड निर्माण भैसकेको छ । विपद् र जोखिममा परेका जोसुकैको पनि उद्धार गरिन्छ ।’ 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति गठन भैसकेको छ । समितिमा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, रेडक्रस, उद्योग वाणिज्य संघका अध्यक्षलगायतका सदस्य रहने जनाएको छ । भोजपुरका नौ वटै पालिकामा कुनै विपद् पर्दा विगतमा जस्तो उज्यालो कुर्नु नपर्ने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । हेलिप्याड निर्माणका लागि भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाले चार लाख रूपैयाँ आर्थिक सहयोग गरेका थिए । 

फर्स्ट रैफल गणका मेजर गंगा बरालले नागरिकका लागि नै हेलिप्याड निर्माण भएको बताउनुभयो । बराल भन्नुहुन्छ, ‘विपद् परेको समयमा सबैलाई उद्धार हुन्छ, यसलाई सेनाको मात्र हेलिप्याड भनेर बुझ्नु हुँदैन ।’

जिल्ला प्रशासन कार्यालय भोजपुरले विपदमा परेकाहरूलाई राहत र उद्धारका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र समेत सञ्चालनमा ल्याएकाे छ । गृहमन्त्री रामबहादुर थापाले केन्द्रको उद्घघाटन गर्नुभएको थियो । भोजपुर जिल्लामा रहेका स्थानीय तहहरूबाट समेत सामग्रीहरू संकलन गरेर केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

यसैगरी, विपद्का लागि सहयोगी निकायका रूपमा नेपाल रेडक्रस सोसाइटी पनि सक्रिय छ । रेडक्रसका सभापति तुलबहादुर सुब्वा भन्नुहुन्छ, ‘रेडक्रसले विपद्का लाग चाहिने आवश्यक सामग्री तयारी अवस्थामा राखेको छ । आवश्यक सामग्री रेडक्रसबाट उपलब्ध गराउन सकिन्छ ।’

दुर्गममा उद्धारको व्यवस्था के छ ?

लगातार लामो प्रसव व्यथा लागेको, बच्चा जन्माउन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा-शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएको, गर्भवती तथा सुत्केरी महिलालाई ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला’ भनी परिभाषित गर्दै त्यस्तो अवस्थाका महिलालाई उद्धार गरेर उपचारका लागि पठाउने राष्ट्रपति महिला उत्थान कार्यक्रम अधिकृत अञ्जु ढुंगानाले बताउनुभयो ।

प्रदेश नम्बर १ को दुर्गम पहाडी जिल्ला भोजपुरमा विपद् परेको अवस्थामा ज्यान जोगाउन उज्यालो हुन्जेल कुर्नैपर्ने बाध्यता थियो । तर अब रातकै समयमा पनि जिल्लाबासीलाई विपद् परे नाइटभिजन हेलिकोप्टरमार्फत उद्धार गर्न सक्ने व्यवस्था गरिएको छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार कार्यविधि तयार पारेर गएको पुसदेखि यो अभियान सुरु गरिएको हो ।सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थामा स्वास्थ्य समस्याका कारण ज्यान जोखिममा रहेकालाई तत्काल हवाइ उद्धार गरेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याएको ढुंगानाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया