बाढी, पहिरो र डुबान: यस्ताे छ देशभरकाे क्षति र सडककाे अवस्था

 असार २९, २०७६ आइतबार २०:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म देशभरमा ६० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले २४ जना महिला र ३६ जना पुरुषको ज्यान गएको पुष्टि गरेको हो । काठमाण्डौमा ३ जना, ललितपुर, रौतहट र भोजपुरमा ५-५ जना, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४-४ जना, खोटाङ र काभ्रेमा ३-३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा २-२ जना तथा इलाम, पाँचथर, सुनसरी, सिरहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १-१ जना गरी ६० जनाको ज्यान गएको हो ।

त्यसैगरी देशभरमा बाढी, पहिराे र डुबानमा परेर २१ पुरुष र १७ जना महिला गरी ३८ जना घाइते भएका छन् । धनकुटामा ८ जना, मकवानपुरमा ४ जना, ललितपुर र सिराहामा ३-३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २-२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १-१ जना घाइते भएका हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

बाढी, पहिराे र डुबानका क्रममा अझै पनि २६ जना हराइरहेका छन् । प्रहरीका अनुसार १४ जना पुरुष र १२ जना महिला गरी २६ जना हराइरहेका हुन् । डोल्पामा ७ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३-३ जना तथा काठमाण्डौ, ललितपुर, झापा, सुनसरी, रौतहट, सिराहा, धनुषा, धादिङ र दाङमा १-१ जना गरी २६ जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी छ ।

बाढी, पहिरो र डुबानमा परेकामध्ये आइतबार बेलुकासम्म १ हजार ४ सय ४४ जनाको उद्धार गरिएको छ । काठमाण्डौमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी १ हजार ४ सय ४४ जनाको उद्दार गरी सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

यसै क्रममा १० हजार ३ सय ८५  घरधुरीका बासिन्दा विस्थापित भएका छन् । बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ ठाउँमा आवश्यक खोज उद्धारका सामग्रीसहित ८ हजार १ सय नेपाली सेना खटिएका छन् । उनीहरुले खोज तथा उद्धार, राहत वितरण, उपचार, राजमार्ग तथा सहायक मार्ग खुलाउने लगायतका काम गरिरहेका नेपाली सेनाले जनाएको छ ।

सडककाे अवस्था

महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । महोत्तरीको भप्सी खोलामा पुल भत्किएर अवरुद्ध भएकाे सडक पानीको बहाव घटेपछि डाइर्भसनबाट एकतर्फीबाटो सञ्चालन गरिएको हाे । बीपी राजमार्गको सिन्धुली गलनजोर गाउँपालिका र सुनकोशी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक पनि एकतर्फी सञ्चालन भएको छ । वर्षाका कारण मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५, महालक्ष्मीखोला नजिक खसेको पहिरो हटाएपछि फाखेल काठमाण्डाै सडक एकतर्फी रुपमा खुलेको छ ।

सिद्धबाबामा फेरि पहिरो

पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबामा खसेको पहिरोले सिद्धार्थ राजमार्ग फेरि बन्द भएको छ । आइतबार बिहान पहिरो हटाएपछि एकतर्फी खुलेको सिद्धार्थ राजमार्ग दिउँसोबाट फेरि बन्द भएको हो । अहिले सडक खुलाउने पहल भइरहेको छ ।

मध्यपहाडी लोकमार्गको खुर्कोट उदयपुर सडकमा पनि पहिरोका कारण पुरै अवरोध रहेको छ । रामेछाप सेलेघाट सडकखण्ड, मुस्ताङको बेनी जोमसोङ सडकखण्ड, मनाङको बेशिसहर मनाङ सडकखण्ड, सिद्धिचरण राजमार्ग, भोजपुरको गजुरमुखी, धनकुटाको पाख्रीबास हिले भोजपुर सडकखण्ड, रौतहटको चपुरगौर सडकखण्ड, महोत्तरीको जलेश्वर सडकखण्ड, कालिकोट कर्णाली राजमार्गको सडक अवरोध खुलाउने प्रयास भैरहेको छ ।

त्रिभुवन राजपथ, पृथ्वी राजमार्गमा भने अवरोध नरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया