मकवानपुरको मार्खुमा पहिरोः घर पुरिएर आमा छोरीको मृत्यु

 असार ३०, २०७६ सोमबार १३:१:३६ | हरि हुमागाईं
unn.prixa.net

हेटौंडा – मकवानपुरको मार्खुमा आइतबार राति पहिरो जाँदा घरमा सुतिरहेका आमा र छोरीको ज्यान गएको छ । 

ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा पहिरोले पुर्दा कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता बलामीको ज्यान गएको हो । त्यस्तै पहिरोमा परि ३८ वर्षीया बुहारी बेली बलामी घाइते हुनुभएको छ । 

पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला पारिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । आइतबार राति नै पहिरो खसे पनि स्थानीयबासीले भने बिहान मात्रै थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घरै नदेखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । 

पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियोे । 

अन्तिम अपडेट: चैत २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया