एक वर्षमा एक लाख ५३ हजार नेपाली भिजिट भिसामा यूएई पुगे

 असार ३०, २०७६ सोमबार १५:५३:१० | उमाकान्त पाण्डे

यूएई – यो वर्ष कामदार भिसामा भन्दा धेरै भिजिट भिसामा नेपालीहरु यूएई पुगेका छन् ।

यो वर्ष मात्रै एक लाख ५३ हजार ८ सय ७० नेपाली भिजिट भिसामा यूएई आएको यहाँको अध्यागमन र पररास्ट्रलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधाबीले जनाएको छ । गएको दुई वर्षमा जम्मा २५ हजार जना मात्रै कामदार भिसामा यूएई पुगेका छन् ।

त्यसरी भिजिट भिसामा पुग्ने नेपालीको सँख्या उच्च रहेको र ती नेपाली सबै नेपाल फर्के वा फर्किएनन् भन्ने विषय खुलेको छैन । भिजिट भिसामा आउनेहरुमध्ये कतिपय यूएईमा कार्यरत आफन्तलाई भेट्न र घुम्न आएका हुन् ।

तर आफन्तलाई नै भेट्न भनेर कति नेपाली आए भनेर पनि यकिन तथ्याँङ्क छैन । यहाँ कार्यरत नेपालीले आफ्ना आफन्त ल्याउनका लागि जारी गरिने सिफारिस पत्र भने यो वर्ष ३५ सय जारी गरेको दूतावासले जनाएको छ ।

परिवारका सदस्यलाई भिजिट भिसामा यूएई ल्याउँदा नेपाली दूतावास आबुधाबीले अध्यागमन विभागलाई सिफारिस पत्र पठाउने गरेको थियो ।

त्यस्तै यूएईमा हुने बिभिन्न कार्यक्रमका लागि आउने धेरैजसो कलाकारलाई पनि आयोजकले दूतावासमार्फत सिफारिस पत्र बनाउने चलन थियो । परिवार भेट्न आएका आफन्तजन भेटघाट र घुमघाम सकेर नेपाल फर्किए पनि बाँकी नेपाली कसरी यूएई आए र उनीहरु कहाँ गए भन्ने विवरण कसैसँग पनि छैन।a

अन्तिम अपडेट: चैत १२, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया