रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक वर्षा अवधिभर सञ्चालनमा नआउने

 असार ३०, २०७६ सोमबार १७:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा  – रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक वर्षा अवधिभर सञ्चालनमा नआउने भएको छ ।

अविरल वर्षाको कारण सडक खण्डको धेरै स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ । वर्षाको समयमा पहिरो जाने तथा ढु्ङ्गा खस्ने भएका कारण सडक सञ्चालन नगरिने भएको हो ।

प्राविधिक रूपमा जोखिम भएकाले वर्षा सिजन सकिएपछि मात्रै सडक सञ्चालन गर्न सकिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण मैलुङ–स्याफ्रु सडक तत्काल सञ्चालन नल्याइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया