बाढी पहिरो प्रभावित क्षेत्रमा रोगको जोखिम : यसरी सावधानी अपनाऔँ

 असार ३१, २०७६ मंगलबार ११:२७:२५ | विना न्याैपाने
unn.prixa.net

बाढी पहिरो प्रभावित क्षेत्रमा रोगको जोखिम बढेको छ । बाढी प्रभावित क्षेत्रमा हेपाटाइटिस ‘ए’ ‘ई’, टाइफाइड, डेंगु, मलेरिया, हैजा, झाडापखाला, कीटजन्य रोग, लेप्टोस्पिरोसिस ब्याक्ट्रोरीया लगायतका रोग लाग्न सक्छ ।

लेप्टोस्पिरोसिस ब्याक्टेरिया प्राकृतिक प्रकोपको बेला धेरै सक्रिय रहन्छ ।
  
लेप्टोस्पिरोसिस ब्याक्टेरियाले के गर्छ ?

लेप्टोस्पिरोसिस ब्याक्टेरियाले शरीरका विभिन्न भागमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्‍याउँछ । यो ब्याक्टेरियाले कलेजो तथा मिर्गौलामा असर गर्छ । यसले श्वासप्रश्वासमा समस्या ल्याउँछ । मेनेन्जाइटिस निम्त्याउँछ । यसको सुरुको लक्षण रुघाखोकीको जस्तो हुन्छ । ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, छाला चिलाउने, आँखा रातो हुनेलगायतका समस्या देखिन्छ । 

के कुरामा ध्यान दिने ?

बाढी पीडित आफैँ विस्थापित भएका हुन्छन्, आफूसँग सामान हुँदैन । प्रभावितलाई  पानी उमालेर पिउनुहोस्, फिल्टर गरेर पिउनुहोस्, ताजा पिउनुहोस्, पियुष तथा क्लोरिनको प्रयोग गर्नुहोस्  भन्न मिल्दैन । 

सम्बन्धित निकाय तथा सहयोगी हातहरुले लैजाने पानी तथा खानेकुरा स्वस्थ तथा ताजा हुनुपर्छ । 
खानेपानी उमालेर पिउने अवस्था नभएमा  छानेर पिउँदा पनि धेरै राहत हुन्छ । व्यक्तिगत सरसफाइको कार्यक्रम उहाँहरुको लागि उपयोगी हुन्छ । अवस्था सामान्य हुँदै गएपछि भने सरसफाइमा विशेष ख्याल राख्नुपर्छ ।

प्रभावित क्षेत्रमा डेंगु, मलेरिया फैलिन सक्ने सम्भावना धेरै भएकाले लामखुट्टे नियन्त्रण गर्नु पर्छ । 
एक दुई दिन सामान्य ज्वरो आयो भने आत्तिनु पर्दैन । तर  हन्हनी ज्वरो आउने, तारन्तार बान्ता हुने भयो भने तत्काल अस्पताल लैजानुपर्छ ।

एक्कासी टाउको दुख्नु, आँखा दुख्नु, जोर्नी दुख्नु, वाकवाकी आउनु, पखाला चल्नु, मांशपेशी दुख्नु लगायतका समस्या भएमा अस्पताल जानुपर्छ ।

बाढी प्रभावित ठाउँ महिनौँसम्म पनि रोगको उच्च जोखिम हुने भएकाले पीडित तथा सम्बिन्धित सबैको ध्यान जानुपर्छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत २३, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया