हटेन वैदेशिक रोजगारीमा हुने लैङ्गिक विभेद, रोजगारीका नाममा मानव बेचबिखन

 साउन १, २०७६ बुधबार १६:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगारीमा हुने लैङ्गिक विभेद हट्न नसकेको प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले प्रकाशित गरेको ‘आप्रवासी कामदारहरुको अधिकारको अवस्था’ प्रतिवेदनमा वैदेशिक रोजगारीमा लैङ्गिक विभेद कायमै रहेको उल्लेख छ ।

वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीमा लैङ्गिक विभेद नहुने व्यवस्था भए पनि व्यवहारमा लागू भएको छैन । नेपाल सरकारले वैदेशिक रोजगारीमा महिलालाई कहिले ‘प्रतिबन्ध’ त कहिले ‘उमेर हद’ तोक्ने गरेको छ ।

महिलाको सुरक्षालाई लिएर विशेष संरक्षण गरिनुपर्नेमा त्यसको पहल नभएको र ‘प्रतिबन्ध’ नै समस्याको समाधान जस्तो गरेको भन्दै मानवअधिकार आयोगले आपत्ति जनाएको छ ।

सरकाले ‘प्रतिबन्ध’ र ‘उमेरहद’लाई समाधानको उपाय ठाने पनि त्यसले महिलालाई तेस्रो मुलुक पुर्याउनमा खासै नियन्त्रण गरेको छैन । अझै पनि खुला सिमाना र नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी महिलालाई प्रतिबन्धित देशमा पुर्याउने काम भइरहेको छ ।

परराष्ट्र तथा श्रम समितिको प्रतिवेदनमा खाडी राष्ट्रहरुमा अवैध ढंगले पुर्याइएका घरेलु कामदाहरुमध्ये ६० प्रतिशत जति नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्याएको पाइएको छ । 

यस्तो सेटिङमा विमानस्थलकै कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र बिचौलियाहरुको प्रत्यक्ष संलग्नता रहेको देखिएको छ । यस्तै ४० प्रतिशत भारतका विभिन्न शहर, श्रीलङ्का, चीन र अन्य अफ्रिकी राष्ट्र हुँदै खाडी पुर्याएर बेच्ने गरिएको छ  ।

नेपाली दूतावास साउदी अरबको एक अध्ययनका अनुसार त्यहाँ अनौपचारिक माध्यमबाट पुगेका महिला कामदारहरुको सङ्ख्या ७० हजार रहेको छ । अहिलेसम्म श्रम सम्झौता लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या २ लाख १८ हजार २७३ पुगेको छ । यो वैदेशिक रोजगारीमा गएका जम्मा सङ्ख्याको ५ प्रतिशत हो ।

यस्तै मानवअधिार आयोगले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको जनाएको छ । वैदेशिक रोजगार एजेन्सी र स्थानीय एजेन्टहरुले कामको मूलभूत पक्ष (काम, रोजगारदाता, पारिश्रमिक, कार्यघण्टा)का बारेमा झुक्याई कामदार भर्ना गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको मानव बेचबिखन तथा ओसारपसरार (नियन्त्रण) ऐन, २०६४ ले गरेको परिभाषाअनुसार यसरी झुक्याई वैदेशिक रोजगारीमा पठाउनेका काम मानव अधिकार बेचबिखनअन्तर्गत पर्दछ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया