दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा

 साउन २, २०७६ बिहिबार ७:४०:४१ | एजेन्सी
unn.prixa.net

दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । 

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ । 

बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् । यी देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग यो समितिले उपलब्ध गराइरहेको छ । 

रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ । 

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने 'बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ ।' उनले बाढीका कारण ज्यान गुमाउने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएका छन् ।  

यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तीमा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको पनि उनले जानकारी दिए । 

उनले भने 'बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ, तर मनसुन भर्खरै सुरु भएकोले यसले अझै पनि ठूलो क्षति पुर्‍याउन सक्ने खतरा छ ।' 

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन् ।  यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७ सय ५० गाउँ नै बगाएको छ । त्यसैगरी, नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति पुर्‍याएको छ । यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ । 

बङ्गलादेशमा पनि बाढीले ठूलो असर पुर्‍याएको छ । जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ । भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया