दुई दशकसम्म पनि पुनःस्थापना हुन नसकेका मुक्त कमैयालाई संवाद समूहले दिलायाे जग्गाधनी पुर्जा

 साउन ३, २०७६ शुक्रबार १६:५१:७ | भावुक योगी
unn.prixa.net

बर्दिया – नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको २ दशक पुगिसकेको छ । नेपाल सरकारले विसं २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । 

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कमैया र कम्लरी प्रथा प्रचलनमा थियो । साँझ बिहानको छाक टार्नका लागि अरुको घरमा श्रम गर्ने एक प्रकारको प्रथा थियो, कमैया र कम्लरी प्रथा । 

जमिनदारको घरमा काम गर्ने कमैया र कम्लरीको न त भूमिमा स्वामित्व थियो, न त घरबास नै । त्यही अवस्थाको अन्त्य गर्ने उद्देश्यले नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको दुई दशक पूरा भएको छ । तर दुई दशकसम्म पनि बर्दियामा मुक्त कमैयाको पुनःस्थापना टुंगिएको छैन ।

बर्दियामा ११ हजार सात सय ९७ घर परिवारले मुक्त कमैया परिचय पत्र पाउँदा १० हजार ७ सय ३२ घरपरिवार पुनःस्थापना भैसकेका छन् । ‘पुनःस्थापना हुन बाँकी ६५ घरपरिवारमध्ये ५३ घरपरिवार हालसम्म सम्पर्कमा नै आएका छैनन्, सम्पर्कमा आएकामध्ये १२ जना पुनःस्थापना हुन बाँकी छ’, भूमिसुधार तथा मालपोत कार्यालयका सूचना अधिकारी ओमप्रसाद गौतमले भन्नुभयो । 

संवादबाट २३ घरपरिवार मुक्त कमैयाले जग्गाधनी पुर्जा पाए 

पुनःस्थापना हुन बाँकी रहेकामध्ये बर्दियाको मधुवन नगरपालिका-४ महेरवा बस्तीका २३ घरपरिवार मुक्त कमैयालाई २० औं मुक्त कमैया दिवसको अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ । 

२० औँ मुक्तकमैया दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश-५ की उपसभामुख कृष्णी चौधरी तथा मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले उनीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्नु भएको हो । 

झण्डै १० वर्षअघि जग्गाधनी पुर्जा वितरण गरिएको जग्गा विवादित रहेको थियो । तर संवाद समूह बर्दियाको पहलमा विवाद समाधान भएपछि जग्गाधनी पुर्जा वितरण गरिएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताउनुभयो । 

विवाद समाधान भएर उनीहरुले जग्गाधनी पुर्जा पाउने निश्चित भएपछि हरेक मुक्तकमैया परिवारलाई घर बनाउन र काठ बापतको १ लाख ५५ हजार रुपैयाँ नेपाल सरकारबाट निकासा भैसकेको उहाँले बताउनुभयो । 

बर्दियाको मधुवन नगरपालिकामा बिहीबार आयोजित मुक्त कमैया दिवसको अवसरमा विवादित रहेको क्षेत्रमा संवाद प्रक्रियाबाट विवाद समाधान भएपछि भूमिसुधार तथा मालपोत कार्यालयले २३ घरपरिवार मुक्तकमैयालाई जग्गाधनी पुर्जा दिएर पुनःस्थापना गरेको हो । 

मुक्त कमैया परिचय पत्र पाएको झण्डै २० वर्षपछि आफू बसिरहेको ठाउँको जग्गाधनी पुर्जा हातमा परेपछि २३ घरपरिवार मुक्तकमैया निकै खुसी भएको मुक्त कमैया बिमला थारुले बताउनुभयो । ‘जग्गामा त बसेका थियौँ तर अहिलेसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनौँ । संवाद समूहले हामीलाई पुर्जा दिलायो, खुशी छौँ’, मुक्तकमैया प्रमेश थारुले भन्नुभयो ।

मुक्त कमैयाहरुले जग्गाधनी पुर्जा पाएपछि संवाद समूह, जिल्ला प्रशासन, मधुवन नगरपालिका, भूमि तथा मालपोत र मुक्तकमैया पुनःस्थापना समिति सबैलाई धन्यवाद दिएका छन् ।   

विवादित जग्गा समाधानका लागि लागि दुई वर्षअघि संवाद समूह बर्दियाले महेरवा फाँटाका मुक्त कमैयाबीच सहजीकरणका लागि प्रक्रिया अघि बढाइएको थियो । संवाद समूह बर्दियाले सहजीकरण प्रक्रिया अघि बढाएपछि मधुवन नगरपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुक्त कमैया पुनःस्थापना समितिलगायतका निकायहरुको पहलमा महेरवा फाँटामा मुक्त कमैया दिवसकै अवसरमा मुक्त कमैयालाई पुर्जा वितरण गरिएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।      

विगत लामो समयदेखि मुक्त कमैयाहरुले अरुको घरमा कमैया बसेर जीविकोपार्जन गर्दै आएका थिए । ‘सरकारले अब कमैया छैनन् भनेर घोषणा गरेको पनि २० वर्ष पूरा भयो तर अहिलेसम्म बर्दियाका सबै मुक्त कमैयाहरु पुनःस्थापना हुन सकेका छैनन्, यो निकै दुःखको कुरा हो’, बिन्तिराम थारुले भन्नुभयो । पुनःस्थापना हुन बाँकी रहेका मुक्त कमैयाहरुलाई तत्काल पुनःस्थापना गरिनुपर्ने उहाँको माग छ । 

प्रदेश-५ की उपसभामुख कृष्णी चौधरीले मुक्त कमैया तथा भूमिहीनहरुका माग सम्बाेधन गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । ‘संघ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारले मुक्तकमैया, भूमिहीन सुकुम्बासी तथा पिछडिएका वर्गको समस्या समाधानका विषयमा नीति तथा कार्यक्रममा समावेश गरिएको छ’, उहाँले भन्नुभयो । 

मुक्त कमैया बस्तीमा संवाद प्रक्रियाबाट सहजीकरण कसरी भयो ?

बर्दियाको मधुवन नगरपालिकामा गएको १० वर्ष अघिदेखि मुक्तकमैया बस्तीको भूमि विवाद विषयमा २ वर्ष अघिदेखि निरन्तर संवाद प्रक्रियापछि समस्या समाधान भएको हो । दुवै पक्षको सहमतिमा (२३ घरपरिवार) सहमत भएर मुक्त कमैया पुनःस्थापना समिति र भूमिसुधार तथा मालपोत कार्यालयमा निवेदनसमेत दिएपछि जग्गा पुनः नाप–नक्सा गरी कित्ता काटेर जग्गाधनी पुर्जा दिइएको संवाद समूह सदस्य विष्णु थारुले बताउनुभयो । 

संवाद समूहको पहलमा बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, भूमिसुधार तथा मालपोत कार्यालयका सुचना अधिकृत ओमप्रसाद गौतम, मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्री, मधुवन नगरपालिका–४ का वडाध्यक्ष बिन्तीराम थारु, मुक्तकमैया पुनःस्थापना समितिका सदस्य भक्तबहादुर विकसहित संवाद समूह बर्दियाका सहजकर्ता, सदस्य अर्जुन सवबेदी, विष्णु थारुलगायतको सहयोगमा विवाद समाधान भएको हो ।

मुक्तकमैया बस्तीमा विवाद सहजीकरणका लागि संवाद समूहले संवाद प्रक्रिया अघि बढाएपछि दुवै विवादित मुक्त कमैया पक्ष सहमत भएर मुक्त कमैया पुनःस्थापना समिति र भूमि तथा मालपोत कार्यायलमा जेठ मसान्तमा संयुक्त निवेदन दिएका थिए । 

लगातारको संयुक्त बैठकपछि सहमति अनुसार स्थलगत नाप–नक्सा गरियो । नापनक्सा सकिए लगत्तै सबै २३ घरपरिवार मुक्त कमैयाले संयुक्त निवेदन दिएका थिए । नाप–नक्साको काम सकिएपछि कुल ४५ कठ्ठा जग्गा दामाशाही रुपमा २३ जना मुक्त कमैयाका लागि कित्ता काटेर पुर्जा बनाइएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया