‘बम विस्फोट हुनुअघि राम सिंहले काठमाण्डौका एक प्रहरीलाई फोन गरेका थिए’

 साउन ३, २०७६ शुक्रबार १६:१५:४४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – बिहीबार साँझ धनगढीमा भएको बम विस्फोटमा परि ज्यान गुमाउने राम सिंह र घाइते लक्ष्मण सेराला भारतबाट फर्किएर विप्लव नेतृत्वको नेकपाको गतिविधिमा संग्लन भएको पाइएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका सिंह आफूले बोकेको विस्फोटक पदार्थ पड्किँदा घाइते भएका थिए ।  उपचारका क्रममा बिहीबार राति धनगढीको माया मेट्रो अस्पतालमा उनको ज्यान गएको थियो । उनी भारतको बेंगलोरमा काम गरेर ७ महिनाअघि घर फर्किएका थिए । उनीसँगै उनका दुई दाजुभाइ पनि घर आए । दुई दाजुभाइ रोजगारीका लागि फेरि भारत गए । तर राम भने यतै रोकिए । यतै रोकिएका उनी विप्लवको गतिविधिमा संलग्न भए ।

राम सिंह घरबाट ६ महिनाअघि ‘बेंगलोर जान्छु’ भनेर हिँडेका थिए । ‘आफ्ना दुई दाजुसँग फोनमा कुरा नभएको तर च्याटमा कुरा भएको फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले भन्नुभयो, ‘भारत नगएर विप्लवका गतिविधिहरुमा लागेको उनीसँग बरामद भएका सामानले पनि पुष्टि गरेको छ तर कहिलेदेखि विप्लवमा लागेको हो भन्ने कुरा खोजी हुँदैछ ।’

विस्फोटमा परि ज्यान गुमाएका सिंह मोबाइल र तीन ओटा सिम पनि प्रहरीले बरामद गरेको छ । उनको साथबाट ‘रिमोट टेस्टर’ लगायतका सामग्री पनि फेला परेको छ । उनले पछिल्लो समयमा को–को सँग कुराकानी गरेका थिए ? उनी कुन–कुन ठाउँमा बसेका थिए भन्ने कुरा उनले प्रयोग गर्ने तीन ओटा सिमको सहाराले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्राेतका अनुसार घटनामा परि मृत्यु हुनुभन्दा अगाडि उनले काठमाण्डौमा कार्यरत एक जना प्रहरीलाई समेत सम्पर्क गरी काठमाण्डौ आउन लागेको जानकारी दिएका थिए । तर उनले बोकेका विस्फोटक पदार्थ पड्किएर उनको ज्यान गयो ।

विस्फोटक पदार्थ बोकेर हिँड्नुको प्रयोजन अझै नखुलेको डीएसपी बस्नेतले बताउनुभयो, ‘उनीहरुले कतै पड्काउने योजना बनाएका थिए कि केका लागि विस्फोटक पदार्थ बोकेका थिए, त्यसको अनुसन्धान गरिरहेका छौँ ।’

बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा परि ज्यान गुमाउने २७ वर्षीय राम सिंहले आफ्नो फेसबुक वालमा घटना हुनुभन्दा चार दिनअघि फेसबुकमा लेखेको स्टाटस उनको वास्तविक जीवनसँग मेल खाएको छ । गएको २९ गते उनले लेखेको स्टाटस यस्तो छ– ‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’

उनी आफ्नो कार्यकर्ता भएको  नेकपा विप्लव समूहले पनि दाबी गरिसकेको छ । विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पड्किएको जनाएको छ ।

जारी विज्ञप्तिमा पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको उल्लेख गरिएको छ । बम विस्फोटको घटनामा परि मृत्यु भएका सिंहको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमर्टमपछि धनगढीमा रहेका आफन्तले धनगढीमै दाहसंस्कार गर्ने तयारी गरेको आफन्तले जनाएका छन् । 

बम विस्फोटको घटनामा परि घाइते भएका कञ्चनपुरको बेल्डाडी–५, का लक्ष्मण सेराला पनि भारतबाट फर्किएर विप्लवको गतिविधिमा लागेको पाइएको छ । उनी र उनकी श्रीमती पूर्व माओवादी लडाकु हुन् । उनीहरुले सेना समायोजनमा बर्हिगमन रोजेर पाँच–पाँच लाख रकम समेत बुझेको खुल्न आएको छ । उनकी श्रीमती विमला सेरालाका अनुसार उनका श्रीमान लक्ष्मण भारतको नाशिकबाट रोजगारी गरेर दुई महिनाअघि घर फर्किएका हुन् ।

सिंह र लक्ष्मण बम विस्फोट भएको धनगढीस्थित चटकपुरको निलम होटेलमा सँगै गएको प्रत्यक्षदर्शीले बताएका छन् । लक्ष्मण पनि सिंह जस्तै भारतको नाशिकबाट फर्किएपछि विप्लवको गतिविधिमा लागेका हुन् । घाइते हुनुअघि उनले आफ्नी श्रीमती विमलालाई काम परेर काठमाण्डौ आएको र केही दिनमा घर फर्किने बताएका थिए । ‘भारतबाट फर्किएर आएपछि काम छ भन्दै दुई चार दिन घर आउनु हुन्नथ्यो’ लक्ष्मणकी श्रीमती विमला सेरालाले भन्नुभयो, ‘घाइते हुनुअघि मलाई नै फोन गरेर काठमाण्डौ आएको छु, मेरो चिन्ता नलिनु दुई दिनमा फर्किन्छु भन्नुभएको थियो ।’

सिंह र सेरालाको काठमाण्डौ जाने योजना रहेको उनीहरुको केही मिल्दोजुल्दो कुराले पनि पुष्टि गर्छ । सिंहले काठमाण्डौमा एक जना प्रहरीलाई फोन गरेर ‘काठमाण्डौ आउँछु’ भन्नु र सेरालाले धनगढीमै भएर श्रीमतीलाई ‘काठमाण्डौमा छु’ भन्नुले उनीहरु विस्फोटक पदार्थ बोकेर काठमाण्डौ जाने तयारीमा रहेको देखाउँछ ।  तर ती प्रहरी को हुन् भन्ने बारेमा चाहिँ प्रहरीले जानकारी दिएको छैन ।

बम विस्फोटको घटनापछि एउटा मोटरसाइकल पनि बरामद भएको छ । त्यो मोटरसाइकल उनीहरुको हो कि स्थानीयको हो त्यो कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ । बरामद भएको मोटरसाइकल नक्कली नम्बर प्लेटका भएकाले उनीहरु मोटरसाइकलमै काठमाण्डौ जाने तयारीमा रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृत्यु हुनुअघि सिंहले पनि केही नभन्नु र घाइते भएर उपचार गराइरहेका सेरालाले पनि मुख नखोल्दा योजना के थियो भन्ने खुलेको छैन । सिंहलाई विप्लवले आफ्नो कार्यकर्ता भने पनि विप्लव समूहले भने उनको बारे केही बोलेको छैन । सेराला धनगढीको माया मेट्रो अस्पतालमा उपचारत रहेको र उपचारमा केही कठिनाइ हुन्छ कि भनेर पनि उनको बारेमा विप्लव मौन बसेको आशंका गरिएको छ ।

बम विस्फोटमा परि घाइते भएका अन्य तीन जनाको भने  घटनामा कुनै संग्लनता नदेखिएको प्रहरीले जनाएको छ । धनगढीका स्थानीय जितेन्द्र यादव र मोबिन खान चिया पिउनका लागि केशवराज पाण्डेयले सञ्चालन गरिरहेको निलम होटेलमा पुगेका थिए । सिंह र सेराला पनि त्यही होटेलमा चिया खानका लागि गएका बेला सिंहले बोकेको विस्फोटक पदार्थ पड्किएर अरु तीन जना घाइते भएका थिए ।

उनीहरुमध्ये होटेल सञ्चालक पाण्डेयलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । बम विस्फोटबाट घाइते भएर धनगढीकै माया मेट्रो अस्पतालमा उपचार गराइरहनु भएका पाण्डेयको टाउकोमा बढी चोट लागेका कारण थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो । घटनामा परि घाइते भएका यादव र खानको भने माया मेट्रो अस्पतालमा नै उपचार भइरहेको छ ।

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख ३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया