विपद्काे समयमा खाद्यान्न अभाव हुन नदिन बैतडीमा 'फूड बैंक'

 साउन ३, २०७६ शुक्रबार १७:१३:४७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – विपदमा परेका नागरिकहरुलाई खाद्यान्नको अभाव हुन नदिन बैतडीमा खाद्य बैंक (फूड बैंक) स्थापना गरिएको छ । 

विपदमा परेका नागरिकहरुलाई खाद्यान्न अभाव भएमा खाद्यान्न बैंकबाट खानेकुराको पूर्ति गर्ने उद्देश्यले खाद्य बैंक स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कुनै पनि विपद्को बेला हुने खाद्य संकट हटाउने उद्देश्यले खाद्य बैंक स्थापना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो । 

जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघबीच आपतकालीन खाद्य आपूर्तिका लागि गरिएको समझदारी अनुसार प्रतिव्यक्तिलाई ३ दिन पुग्ने गरी खाद्यान्नको व्यवस्था गरिने भएको छ ।

जसमा १ किलोग्राम चिउरा, ३ प्याकेट चाउचाउ, ३ प्याकेट बिस्कुट, आधा किलोग्राम दालमोठसहितको प्याकेट रहेको छ । ५० जनाभन्दा बढी व्यक्ति विपदमा परेमा ती प्याकेट उपलब्ध गराइने जनाएको छ । 

चालु आर्थिक वर्षका लागि ५ सय व्यक्तिसम्मको लागि खाद्यान्न उपलब्ध हुने उद्योग वाणिज्य संघ बैतडीले जनाएको छ । एक लाख रुपैंयामा स्थापना गरिएको खाद्य बैंकले विपदमा परेका नागरिकलाई तत्काल खाद्यान्न उपलब्ध गराउने भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया