‘सुन्तलाजात फलफूल जोन’का किसानलाई बाँडियो २८ हजार फलफूलका बिरुवा

 साउन ४, २०७६ शनिबार १६:९:१३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोन कार्यक्रम अन्तरगत नवलपुरमा किसानहरुलाई २८ हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ ।

कार्यक्रम अन्तरगत नवलपुरका ५ पालिकाहरुमा पर्ने पहाडी क्षेत्रमा ती बिरुवा बाडिएको सुन्तलाजात फलफूल जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो । नवलपुरको गैंडाकोट, देवचुली, बुलिङटार, बौदिकाली र हुप्सेकोटमा विरुवाहरु वितरण गरिएको थियो । ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बिरुवा प्रदान गरिएको वरिष्ठ कृषि अधिकृत शर्माले बताउनुभयो ।

उहाँका अनुसार १५ हजार ५४८ सुन्तला, ११ हजार ८०७ कागती ,१ हजार ३० जुनार, ९५ निबुवा र १ सय २५ ट्राईफोलेट सुन्तलाका बिरुवा वितरण गरिएकाे हाे । वितरण गरिएका कागतीका बिरुवा धनकुटा र सुन्तलाका बिरुवा गोरखा, पाल्पा र स्याङ्जाबाट ल्याइएको हो । आउँदो सिजनमा भने स्थानीय स्तरमै सुन्तलाका बिरुवा उत्पादन गर्नेगरी नर्सरी निर्माण गर्न लागिएको छ।

२८ हजार बिरुवा थपिएसँगै सुन्तालाजात फलफूलको क्षेत्र समेत विस्तार भएको छ । यस अघि ३ सय ३१ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएकोमा अहिले एक सय हेक्टर क्षेत्रफल बिस्तार भएको हाे । परियोजनासँगै वन कार्यालय , अन्य स्थानीय संघ सस्थामार्फत समेत बिरुवा वितरण गरिएकाले फलफूल उत्पादनको क्षेत्र धेरै बढेको अधिकृत शर्माकाे भनाइ छ ।

गएको झण्डै ६ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएकोमा आउँदाे वर्ष योभन्दा धेरैको कारोबार हुने अपेक्षा गरिएकाे छ। नयाँ विरुवाले तत्काल उत्पादन नदिने भए पनि कार्यक्रम अन्तरगत पुराना बगैँचाहरु समेत व्यवस्थापन गरिएकाले आउँदाे आर्थिक वर्षमा उत्पादन वृद्धि हुने आकलन गरिएकाे हाे । 

फलफूलको उत्पादन बढाउन १२ ओटा सिँचाइ आयोजना सम्पन्न गरिएको छ । थपिएका १२ योजनाले ३६ हेक्टर नयाँ क्षेत्रमा सिँचाँ सुविधा पुग्ने भएकाले फलफूलको उत्पादनमा वृद्धि हुने अधिकृत शर्माले बताउनुभयो ।

सुन्तलाजात फलफूल जोन कार्यक्रम अन्तरगत किसानले उत्पादन गर्ने फलफूलको बजारीकरणका लागि बबोकमा ११ लाख ५० हजार रुपैयाँको लागतमा संकलन केन्द्र निर्माण गरिएको छ । फलफूलको उत्पादन वृद्धि गर्न सञ्चालित भकारो सुधार कार्यक्रम अन्तरगत ५० ओटा भकारो सुधार गरिएको छ ।

आर्थिक वर्ष २०७५-०७६ बाट नवलपरासी पूर्वका गैंडाकोट – १८, बुलिङटार गाउँपालिका , बौदिकाली गाउँपालिकाको ४,५ र ६ , हुप्सेकोटको – ५,  र देवचुलीको– ६,  नम्बर वडालाई समेटेर प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तलाजात फलफूल जोन कार्यक्रम सुरु भएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया