च्याउ टिप्न जंगल जाँदा हराएका १० जना किशाेर २४ घण्टापछि फेला परे

 साउन ४, २०७६ शनिबार १७:५६:५७ | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – च्याउ टिप्न शुक्रबार रूपौलिया जंगल छिरेका १० जना किशोरहरू २४ घण्टापछि शनिबार फेला परेका छन् ।

शनिबार जंगलमा बाटो बिराएपछि उनीहरु घर फर्कन नसकेकाे र जंगलमै रात बिताउन बाध्य भएका थिए । हराएकामध्ये ८ जना बर्दघाट नगरपालिका-८ तेलहाका तथा अन्य २ जना वडा नं ७ जिमरीभारका किशाेरहरु हुन् ।

'पानी पर्न थालेपछि ओत लाग्न पहाडतिर उक्लियौँ र फर्कने बेला बाटो बिरायौं', हराएकामध्ये एक सुरज चौधरीले भने, 'मोबाइलमा नेटवर्क नभएकाले घरमा फोन गर्न तथा गुहार माग्न सकेनौँ । आगो बालेर रात बितायौँ।'

बर्दघाट नगरपालिका-१५, तेलहा गाउँका १६/१७ वर्ष उमेर समूहका १० जना किशोरहरू च्याउ टिप्न जाने भनेर शुक्रबार दिउँसो १ बजे जंगल पसेका थिए । राति अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्न सुरु गरेका थिए ।

सम्बन्धित समाचार

हराएका १० जना किशाेरहरुकाे खाेजी गर्न शनिबार प्रहरी, स्थानीयवासी र स्थानीयहरु उनिहरुलाई खाेज्न जंगल पसेका थिए । शनिबार दिउँसाे माेबाइलमा नेटवर्क आएपछि घरमा फोन गरेर उनीहरू सम्पर्कमा आएका थिए । फोन सम्पर्कको सहयोगमा फेला पारिएका सबैजना सकुशल घर पुगेका छन् ।

सबैजनाको स्वास्थ्य अवस्था समान्य रहेको सुरजका बुवा टेक बहादुर चौधरीले बताउनु भयाे । उहाँले भन्नुभयाे, 'मेरो छोरा सुरजसँगै नवीन चौधरी, मान बहादुर चौधरी, सागर र सन्दीपलगायत सबै १० जना सुकशल छन् ।'

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया