सामाजिक सुरक्षा योजना र प्रधानमन्त्री रोजगार कार्यक्रम सफल बनाउँछौं : मन्त्री विष्ट

 साउन ४, २०७६ शनिबार १८:१४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सफल बनाएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शनिबार काठमाण्डौमा भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को ३० औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले दुवै कार्यक्रमको विषयमा विरोधीले कुरा काटे पनि यसलाई सरकारले सफल बनाउने बताउनुभएको हो ।

उहाँले सबै रोजगारदाता कम्पनीलाई दबाब दिएरै भए पनि सामाजिक सुरक्षा कोषमा ल्याउनुपर्ने पनि बताउनुभयो । यसका लागि ट्रेड युनियनले रोजगारदातालाई दबाब दिनुपर्ने उहाँको भनाई थियो । 

श्रममन्त्री विष्टले श्रमिकको न्यूनतम तलब बढाउनेबारे सरकारले गृहकार्य गरिरहेको पनि जानकारी दिनुभयो । श्रमिकले श्रमको उचित पारिश्रमिक नपाउँदासम्म श्रमको सम्मान नहुने र श्रमको सम्मान नहुँदासम्म देश विकास नहुने भएकाले श्रमको सम्मान हुनुपर्छ भन्नेमा सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । 

उहाँले नेपालको श्रम बजारलाई फराकिलो बनाउन नीति, नियमलाई परिस्कृत र परिमार्जन गर्न सरकार लागिपरेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले सामाजिक सुरक्षा योजनालाई असफल बनाउन विभिन्न शक्ति लागिपरेको भए पनि त्यो हुन नदिन ट्रेड युनियन महासंघ लागिपर्ने बताउनुभयो ।

उहाँले वर्तमान श्रम ऐनअनुसार अझै कतिपय ठाउँमा श्रमिकले न्यूनतम पारिश्रमिक र सेवासुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया