प्रदेश ५ का सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगे, कर्णाली सबैभन्दा पछाडि

 साउन ५, २०७६ आइतबार ११:१०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभरका ७ सय ५३ पालिका  मध्ये ७ सय ३० वटा पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । अब २३ वटा पालिकामा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको र ती पालिकामा पनि छिटै खोलिने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिले प्रदेश पाँच का सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेको जनाएको  छ । प्रदेश पाँचका १ सय ९ मध्ये सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । यस्तै कर्णाली प्रदेशका १० वटा पालिकामा अझै बैंकका शाखा पुगेका छैनन् । कर्णालीका ७९ वटा पालिकामध्ये अहिलेसम्म ६९ पालिकामा मात्रै बैंकका शाखा पुगेका छन् ।

यस्तै, प्रदेश एक का १ सय ३७ मध्ये १ सय ३६ पालिकामा, प्रदेश २ का  १ सय ३६ मध्ये १ सय ३४ पालिकामा बैंक पुगेका छन् । यस्तै प्रदेश ३ का १ सय १९ मध्ये १ सय १७ पालिकामा, गण्डकी प्रदेशका ८५ मध्ये ८३ पालिकामा र सूदूरपश्चिमका ८८ मध्ये ८२ वटा पालिकामा बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १ सय ५१ रहेकोमा २०७६ जेठ मसान्तमा १ सय ७६ पुगेको छ । अहिले २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । यी बैंक तथा वित्तिय संस्थाका बैंक तथा वित्तीय ८ हजार ५ सय ६४ शाखा रहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया