रणजाेर खाेलाकाे बाढीले सयौँ रोपनी खेत बगरमा परिणत, झोलुङ्गे पुल र बस्ती जोखिममा

 साउन ५, २०७६ आइतबार १८:२२:२४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिका वडा नं १, मन्थलीको रणजोर खोलामा आएको बाढीले खोलाको आसपासमा रहेका मकै खेती बगरमा परिणत भएको छ ।  

भीषण वर्षापछि रणजोर खोलामा आएको बाढी किसानले लगाएको मकै बालीमा पस्दा भित्र्याउन ठिक्क परेको मकै सखाप भएको हो । 

खेतमा बाढी पसेपछि एकातिर पाकेको मकै खोलाले बगाएको छ भने अर्काेतिर खेत ढुङ्गे बगर भएपछि किसानहरुले धान समेत रोप्न पाएनन् । पाकेको मकै सबै खोलाले बगाएपछि किसानहरु चिन्तित छन् । समयमा पानी नपर्दा किसानहरुले ढिलो गरी खेतमा मकै लगाएका थिए । 

केही किसानहरुले भने मकै बाली भित्र्याएर धान रोपाइँ गरिसकेका छन् । वर्षाले गर्दा रोपेको धान खेत सबै कटान गरेर खोलाले बगर बनाएपछि आफूहरु समस्यामा परेको मन्थली नगरपालिका वडा नं १ का किसान रमेशकुमार कार्कीले गुनासो गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘पाकेको मकै बाली भित्र्याउने समयमा खोलामा बाढी आएपछि सबै मकै बगायो । केही मकै खेतमा नै पुरियो, पाकेको अन्नबालीसमेत घरमा भित्र्याउन पाएनौँ’, पालिकाले पनि रणजोर खोला संरक्षण गर्न कुनै योजना अघि सारेको छैन । बर्सेनि सयौँ रोपनी खेत बगरमा परिणत हुदै जाँदा खेती गर्न नै मन लाग्न छाडेको छ ।’  

त्यस्तै रणजोर खोलामा आएको बाढीकै कारण मन्थली नगरपालिका वडा नं १ को तामाकोशी नदीमा रहेको झोलुङ्गे पुल र पुलसँगै रहेको बस्ती पनि जोखिममा परेको छ । पुलसँगै बस्ती रहेको क्षेत्रमा दुवैतिरबाट खोला पसेपछि मानवबस्ती जोखिममा परेको हो । समयमै पुल संरक्षण नहुने हो भने सदरमुकाम मन्थलीबाट क्षेत्र नं २ जोड्ने एकमात्र झोलुङ्गे पुल भएर आवातजावत गर्ने जनताहरु प्रत्यक्ष मारमा पर्नेछन् । 

बर्सेनि किसानको खेत बगरमा परिणत हुँदा पनि आफूले खोलालाई तटबन्ध गर्न नसकेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले बताउनु भयो । ‘वर्षै पिच्छे किसानको खेत खोलाले कटान गर्दै लगेको छ । अर्कोतिर तामाकोशी नदीमा रहेको झोलुङ्गे पुल र सँगै रहेको बस्ती समेत जोखिममा परेको छ ।’ 

तर त्यसलाई रोकथाम गर्न स्थानीय सरकारसँग आवश्यक बजेट छैन । नगरपालिकाले भने आउँदाे वर्ष रणनीतिक योजनाका साथ प्रदेश र केन्द्रीय सरकारसँग आवश्यक बजेट माग गरेर खोलामा तटबन्ध बाँध्ने योजना अघि बढाउने प्रमुख बस्नेतले बताउनु भयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया