हुआसिन सिमेन्टले जग्गा भाडामा लिन गरेकाे सम्झौता रद्द गर्न सिफारिस

 साउन ५, २०७६ आइतबार १५:५१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय समिति अन्तगतको उपसमितिले चिनियाँ लगानीको हुआसिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ । 

संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले आइतबार समितिको बैठकमा पेश गरेको स्थलगत अध्ययन प्रतिवेदनमा त्यस उद्योगका लागि धादिङमा ५० वर्षका लागि जग्गा भाडामा लिन गरिएको सम्झौता रद्द गरी त्यसमा संलग्न पदाधिकारीहरुलाई तत्काल कारबाही गर्न सिफारिस गर्नुपर्ने उल्लेख गरिएको हो ।

उपसमितिका संयोजक लेखराज भट्टले लगानी बोर्ड ऐन र स्थानीय शासन सञ्चालन ऐन विपरीत हुनेगरी त्यस कम्पनीलाई ५० वर्षका लागि जग्गा भाडामा दिने स्थानीय तहसँगको सम्झौता रद्द गरी त्यसमा संलग्न पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिन समितिलाई सिफारिस गरिएको बताउनु भयो ।

भट्ट नेतृत्वको उपसमितिले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा त्यस कम्पनीले पूर्वाधार निर्माणका लागि बनाउन लागेको सडकसमेत वैधानिक नरहेको निष्कर्ष निकाल्दै त्यसमा संलग्न लगानीकर्ता तथा ठेकेदार कम्पनीलाई पनि कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

उपसमितिले त्यस कम्पनीलाई उद्योग सञ्चालनका लागि अनुमति दिने क्रममा वितरण गरिएको उद्योग दर्ता प्रमाण पत्रमा उल्लेख गरिएको सर्त पालना गर्न, गराउन पनि सरकारलाई सचेत गराउन उपसमितिले सुझाव दिएको छ ।

उद्योग दर्ता प्रमाण पत्रका सर्तसमेत सो कम्पनीले पालना नगरेको पाइएकाले त्यसको पूर्ण पालनाका लागि सचेत गराउन सरकारलाई निर्देशन दिन पनि समितिलाई सिफारिस गरिएको उपसमितिका संयोजक भट्टले बताउनु भयो ।

याे उद्योग धादिङ र मकवानपुर जिल्लाको सीमामा रहेकाे पानीखर्कमा स्थापना भइरहेको  छ । १४ अर्ब लगानीमा बन्न लागेको याे उद्योगले प्रारम्भिक वातावरणीय परीक्षणको सर्तसमेत पालना नगरेको उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया