मन्त्रीलाई साझा पार्टीकाे कोट उपहार

 साउन ५, २०७६ आइतबार १८:३२:३२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – साझा पार्टी, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयले विनियाेजन गरेकाे बजेटकाे दुरुपयाेग गरेकाे विराेधमा मन्त्रीलाई कोट उपहार दिएको छ ।

हुम्लामा दलित र विपन्न समुदायको क्षमता विकासको लागि सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेटमध्ये जिल्लाका कार्यालयका कर्मचारी र मन्त्रीका सहयोगीका लागि कोट सिलाएको विरोधमा सामाजिक विकासमन्त्री दल रावललाई उपहारका रुपमा कोट दिइएको हो ।

साझा पार्टीले गरिब जनाताको करबाट उठेको रकम यसरी अनियमित हुनु र सरकार मूकदर्शक बन्नुले संस्थागत भ्रष्टाचारलाई प्रोत्साहित गरेको पार्टीको निष्कर्ष भएको बताएको छ ।

पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले मन्त्री रावललाई विरोधस्वरुप कोट दिएको बताउनुभयो । दलित र विपन्न समुदायका लागि छुट्टाएको बजेट यसरी दुरुपयोग गर्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ । 

घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले दलित तथा विपन्न समुदायका लागि क्षमता विकास तालिमको बजेट मध्यबाट जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीलाई कोट सिलाइएको थियो ।

पार्टीले आगामी दिनमा यस्ता घटनाहरु मन्त्रालयका निकायबाट हुन नदिन विश्वसनीय, ठोस र पारदर्शी संयन्त्र निर्माण गर्न पनि माग गरेको छ । सरकारका काम कारबाही पारदर्शी बनाउन पार्टीले मन्त्री रावललाई ७ बुँदे ध्यानाकषर्ण पत्र बुझाएको छ ।  

पार्टीले सामाजिक मन्त्रालयबाट विभिन्न सरकारी विद्यालय, संघसंस्था, मठमन्दिरलगायतलाई अपारदर्शी र हचुवाको भरमा बजेट नदिएर मापदण्ड गराएर मात्र न्यायिक र पारदर्शी ढंगले वितरण गरिनुपर्ने, सरकारी विद्यालयमा शुल्क लिने परिपाटी बन्द गर्न, शिक्षा र स्वास्थ्यका सेवा सुविधा पूर्णरुपमा निःशुल्क गराउनुपर्ने, डिजिटल प्रदेशलाई मूर्त रुप दिन सम्पूर्ण सरकारी विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन माग गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया