वेष्ट इण्डिजविरुद्धको श्रृंखलाकाे सबै फर्म्याटमा विराट काेहली नै कप्तान

 साउन ५, २०७६ आइतबार १७:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सबै अनुमानहरुलाई गलत सावित गर्दै वेष्ट इण्डिजविरुद्धको श्रृंखलाका लागि भारतले सबै फर्म्याटको क्रिकेटमा विराट कोहलीलाई नै कप्तानमा निरन्तरता दिएको छ ।

आइतबार मुम्बईमा ट्वान्टी-ट्वान्टी, एक दिवसीय र टेष्ट टिमको घोषणा कार्यक्रममा मुख्य छनोटकर्ता एमएसके प्रसादले वेष्ट इण्डिज भ्रमण अन्तर्गत ट्वान्टी-ट्वान्टी र एक दिवसीयमा जसप्रित बुमराहलाई र हार्दिक पान्ड्यालाई आराम दिइएको जानकारी दिनुभयाे ।

विश्वकपका क्रममा चोट लागेर टिमबाट बाहिरिएका ओपनिङ ब्याट्सम्यान शिखर धवनले एक दिवसीय टिममा पुनरागमन गरेका छन् । विश्वकपमा सर्वाधिक रन बनाएका रोहित शर्मा तीनै फर्म्याटको टिममा छन् । श्रेयस अय्यर, मनिष पान्डे, नवदीप सैनी र खलिल अहमद एक दिवसीय टिममा परेका छन् ।

विकेटकिपर ब्याट्सम्यान ऋद्धिमन साहले भारतको टेष्ट टिममा पुनरागमन गरेका छन् । उनी लामो समयदेखि चोटग्रस्त थिए । उनले भारतका लागि पछिल्लोपल्ट सन् २०१८ मा दक्षिण अफ्रिका विरुद्धको टेष्ट श्रृंखला खेलेका थिए ।

२०१८ को आईपीएलको क्रममा चोट लागेपछि उनको काँधको शल्यक्रिया भएको थियो । भारतको ट्वान्टी-ट्वान्टी टिममा लेग स्पिनर राहुल चाहरमात्र नयाँ अनुहार हुन् ।

पछिल्लो आईपीएल र अन्य घरेलु प्रतियोगितामा गरेकाे प्रदर्शनका आधारमा उनले राष्ट्रिय टिममा स्थान बनाएका हुन् । भारतको वेष्ट इण्डिज भ्रमण अगष्ट ३ देखि सुरु हुनेछ । त्यहाँ ३/३ ट्वान्टी-ट्वान्टी र एक दिवसीय तथा २ टेष्टको शृंखला हुनेछ ।

विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँग पराजित भएपछि भारतको याे पहिलो श्रृंखला हो । विश्वकपको लिग चरणबाटै बाहिरिएको वेष्ट इण्डिजका लागि पनि यो पहिलो श्रृंखला हो ।

मुख्य प्रशिक्षक रवि शास्त्रीसँगै अन्य कोचिङ स्टाफको सम्झौता वेष्ट इण्डिज भ्रमण र घरेलु मैदानमा हुने दक्षिण अफ्रिकाविरुद्धको श्रृंखलासम्मका लागि लम्ब्याइएको छ ।

यस्ताे छभारतकाे  टिम:

टेष्ट

 विराट कोहली (कप्तान), मायाङ्क अग्रवाल, लोकेश राहुल, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पन्त, ऋद्दिमन शाह, रविचन्द्रन आश्विन, रबिन्द्र जडेजा, मोहमद शामी, इशान्त शर्मा, कुलदिप यादव, जस्प्रित बुम्राह, उमेश यादव

एक दिवसीय 

विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, श्रेयस अय्यर, मनिस पाण्डे, ऋषभ पन्त, रबिन्द्र जडेजा, कुलदिप यादव, युजबेन्द्र चाहल, केदार जाधब, मोहमद शामी, भुवनेश्वर कुमार, खलील अहमद, नवदीप सैनी

टी-२०

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, लोकेश राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रबिन्द्र जडेजा, वासिङटन सुन्दर, राहुल चाहर, भुवनेश्वर कुमार, खलील अहमद, दिपक कुमार, नवदीप सैनी

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया