२०२३ काे विश्वकपमा खेल हुनसक्ने भारतका पाँच क्रिकेट रंगशालाहरु

 साउन ५, २०७६ आइतबार १८:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप २०१९ भर्खरै सकिएको छ । इंग्ल्याण्ड र वेल्समा भएको प्रतियोगिताको उपाधि फाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्डले जित्न सफल भयो । अब १३ औं संस्करणको विश्वकप क्रिकेट भारतमा हुने छ । त्यसका लागि आईसीसीले भारतलाई जिम्मा दिइसकेको छ ।

भारतमा २०२३ को फेब्रुअरी ९ देखि २६ मार्चसम्म प्रतियोगिता हुने जनाइएको छ । २०१९ जस्तै २०२३ को विश्वकपमा पनि १० टिमको सहभागिता हुने छ । घरेलु टिमले आईसीसी बरियताको शीर्षदेखि सातौं स्थानसम्मको टिमले विश्वकपमा सिधैं स्थान बनाउँदा बाँकी २ टिमले भने छनाैट खेल्नुपर्ने छ ।

२०११ मा भारत, श्रीलंका र बंगलादेश मिलेर विश्वकप आयोजना गरेका थिए । यसैगरी १९८७  र १९९६ मा पनि भारतले संयुक्तरुपमा विश्वकप आयोजना गरेको थियो । २०२३ को विश्वकप भारत एक्लैले गर्दै छ ।

यी हुन् २०११ मा विश्वकप आयोजना गरेपछि बनेका भारतका पाँच स्टेडियम जसमा २०२३ को विश्वकपमा खेल हुनसक्ने अपेक्षा गरिएकाे छ ।

५. झारखण्ड स्टेडियम राँची

झारखण्ड स्टेट क्रिकेट एशोसिएशन इन्टरनेशनल स्टेडियमको उद्घाटन २०१३ मा भएको थियो । राँचीमा रहेको याे स्टेडियमलाई आईपीएलको चेन्नाई सुपर किंग्सले धेरै पटक होम ग्राउण्डको रुपमा प्रयोग गर्दै आएको छ ।

यो भारतीय पूर्व कप्तान महेन्द्रसिंंह धोनीको होम ग्राउण्ड पनि हो । यस स्टेडियमको सुविधा राम्रो हुनुका साथै दर्शक क्षमता ४० हजार रहेको छ । जसका कारण यो स्टेडियममा २०२३ मा विश्वकपको खेल हुनसक्ने आकलन गरिएको छ ।

४. इकाना स्टेडियम

भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा उत्तर प्रदेशको लखनउमा इकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाइएको छ । ५० हजार दर्शक क्षमताको यो स्टेडियम भारतकै तेस्रो ठूलो स्टेडियम पनि हो ।

यो स्टेडियममा भारत र वेस्टइण्डिजले २०१८ मा पहिलो अन्तर्राष्ट्रिय टी–२० खेलेका थिए । यो स्टेडियम अहिले अफगानिस्तान क्रिकेट टिमको होम ग्राउण्डको रुपमा रहेको छ । २०२३ को विश्वकपमा यो स्टेडियममा केही खेल हुने सम्भावनालाई नकार्न सकिँदैन ।

३. बाराबती स्टेडियम ओडिसा

बाराबती स्टेडियम ओडिसाको कटकमा रहेको छ । यो स्टेडियममा १९८२ मा पहिलो अन्तर्राष्ट्रिय म्याच आयोजना गरिएको थियो । भारतको सबैभन्दा पुरानो क्रिकेट स्टेडियममध्येको एक बाराबती स्टेडियममा ४५ हजार दर्शक अटाउँछन् जसका कारण यसमा विश्वकपकाे खेल हुन सक्छ ।

१९८७ र १९९६ को विश्वकपमा यस स्टेडियममा केही खेल भएका थिए । तर पछिल्लो २ वर्षदेखि यस स्टेडियमका कुनै पनि अन्तर्राष्ट्रिय म्याच भएका छैनन् । अहिले तयारी अवस्थामा रहेको यो स्टेडियममा २०२३ को विश्वकप क्रिकेटका केही खेल हुन सक्छन् ।

२. धर्मशाला क्रिकेट स्टेडियम

हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियम भारतको सबैभन्दा राम्रो स्टेडियम हो । यसको स्थापना २००३ मा भएको थियो जुन २३ हजार दर्शक क्षमताको छ । यो स्टेडियम समुन्द्री सतहदेखि १ हजार ४ सय ५० मिटरको उचाइमा छ ।

यस स्टेडियममा भारत र इंग्ल्याण्डबीच २०१३ मा एक दिवसीय क्रिकेट भएको थियो । यसैगरी २०१६ को टी–२० विश्वकपका केही खेलहरु पनि यसमा भएका थिए ।

१ . मोटेरा क्रिकेट स्टेडियम 

अहमदाबादमा रहेको मोटेर स्टेडियम अहिले पुनर्निर्माणको चरणमा छ । यो विश्वकै ठूलो स्टेडियममा पर्छ । यसको दर्शक क्षमता नै १ लाख १० हजार बनाउन लागिएको छ । यो  स्टेडियम पूरा भएमा अस्ट्रेलियाको मेलबर्न क्रिकेट स्टेडियमलाई पछि पार्नेछ ।

२००६ को आईसीसी च्याम्पियन्स ट्रफी र २०११ को विश्वकपमा पनि यो स्टेडियममा खेलहरु भएका थिए । यसमा २०१४मा भारत र श्रीलंकाले अन्तिम एक दिवसीय क्रिकेट खेलेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया