नेकपा स्याङ्जामा इञ्चार्ज र सह इञ्चार्ज दुवै महिला, दुवै पूर्व एमाले

 साउन ५, २०७६ आइतबार २०:०:४२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा -  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जामा इञ्चार्ज र सह इञ्चार्जका दुवै महिलालाई चयन गरिएकाे छ।

नेकपा जिल्ला इञ्चार्जमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सह इञ्चार्जमा जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सिता सुन्दास चयन हुनु भएको हो ।

आइतबार बसेको नेकपा केन्द्रीय कमिटिको बैठकले इञ्चार्ज र सह इञ्चार्ज अर्याल र सुन्दासलाई  जिम्मेवारी दिने निर्णय गरेको हो । अर्याल र सुन्दास दुवै पूर्व एमाले हुनुहुन्छ । एकीकरणपछि दुवै जना नेकपाको केन्द्रिय सदस्यमा बहाल रहनु भएको छ ।

बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाहरूका इञ्चार्ज तथा सह इञ्चार्जको टुङ्गो लगाएको हो । पूर्व सहमतिअनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह इञ्चार्ज चयन गर्ने नीति बनाएको भए पनि स्याङ्जामा भने दुवै जना तत्कालीन एमालेबाट चयन गरिएको छ ।

नेकपा स्याङ्जामा यस अघि नै तत्कालीन माओवादीबाट अध्यक्षमा सूर्यप्रसाद गैह्रे र सचिवमा तत्कालीन एमालेबाट मिनप्रसाद गुरुङ चयन भइसक्नुभएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया