सरकारविरुद्ध आन्दोलन चर्काउने कांग्रेस सभापति देउवाकाे चेतावनी

 साउन ६, २०७६ सोमबार १४:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनु भएको छ ।  

सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्‍याउनु भयो ।

बीपी जयन्तिको अवसर पारेर शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने स्पष्ट पार्नु भयो ।

सभापति देउवाले बीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तका रुपमा अघि सारेको उल्लेख गर्दै त्यही मान्यताबाट अघि बढदा मात्रै देशमा समृद्धि आउने विश्वास पनि व्यक्त गर्नुभयो । त्यस अवसरमा सभापति देउवाले बीपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गर्नु भएको थियो ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनु भयो । उहाँले बीपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि बीपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको स्मरण गराउनु भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया