ललितपुरमा बाढीले भत्काएका खानेपानी संरचना मर्मत हुँदै, दुई–तीन दिनभित्रै आपूर्ति सहज हुने

 साउन ६, २०७६ सोमबार १७:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरमा बाढी तथा पहिरोले क्षति पुर्‍याएका खानेपानीका संरचना मर्मत भैरहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले  जनाएको छ ।

बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन । ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले देवकी र बासुकी मुहानको मर्मतलाई तीव्रता दिइरहेको छ ।

बाढीका कारण देवकी र बासुकी मुहानमा पुरै क्षति पुर्‍याएको थियो भने नल्लुमा झण्डै साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो । केयूकेएलको ललितपुर शाखाका प्रमुख डा. डोलप्रसाद चापागाईँले तत्कालका लागि देवकी र बासुकी मुहानको मर्मत गरी झण्डै ५० प्रतिशत पानी चापागाउँको ट्यांकीमा खसाल्न सकिएको जानकारी दिनुभयो ।

‘तत्काल देवकी र बासुकी मुहानको मर्मत गरिरहेका छौँ । यी दुई मुहानको मर्मत गरेर भए पनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौँ’, शाखा प्रमुख चापागाईँले भन्नुभयो, ‘फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पुरै क्षति पुर्‍यायो त्यसको पनि मर्मत गर्दैछौँ । तत्कालका लागि २–३ दिनभित्र नै खानेपानीको आपूर्ति सहज हुन्छ ।’

बाढीले क्षति पुर्‍याएको मुहान र पाइपलाइनको विषयमा अध्ययन तथा अनुगमन गर्दै आउनुभएका काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जि विक्रम राणाले बाढीबाट मुहान र पाइपलाइनमा गरी झण्डै ३ करोड ७१ लाख बराबरको क्षति भएको जानकारी दिनुभएको छ ।

केयूकेएलले फर्पिङबाट पानी पम्पिङ गरी ललितपुरका विभिन्न शहरबजारमा खानेपानी वितरण गर्ने गरेको छ भने देवकी, बासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित ट्यांकीमा खसाली त्यहीँबाटै वितरण गर्ने गरेको छ । फर्पिङबाट पम्पिङ गरेर ल्याइएको पानी ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण गर्ने गरिएको छ ।       

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया