घुस मागेको थाहा पाए एक घण्टामै कारबाही : मुख्यमन्त्री राई

 साउन ६, २०७६ सोमबार १९:१७:२४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई सुशासन स्थापना गर्न कडा निर्देशन दिनु भएको छ । भ्रष्टाचार गर्ने तथा प्रदेशलाई बदनाम गराउने काम भएको भन्दै मुख्यमन्त्री राईले यस्ता गतिविधिमा संलग्न कसैलाई नछाड्ने चेतावनी दिनु भएको हो ।

प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यालयमा बोलाएर मुख्यमन्त्री राईले घुसबारे पर्याप्त सूचना आएको जानकारी दिँदै त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्ने चेतावनी दिनु भएको छ । त्यस्तो गरेको थाहा पाए एक घण्टामै कारबाही गरिने बताउँदै उहाँले कर्मचारीलाई सचेत गराउनु भएको हो । 

मुख्यमन्त्री राईले कर्मचारीबाट प्रदेशको बदनाम भएको भन्दै त्यस्तो नगर्न सचेत गराउनुभयो । ‘कुन अड्डा कसरी चलिरहेको छ भन्ने विषयमा निरन्तर निगरानी गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘मान्छे (कर्मचारी) रंगेहात समातिनु र यति अंक रकममाथि बुझाउनु पर्ने भनेर बयान आउनु यो कस्तो तरिका हो ? माथि भनेको कहाँ हो ? घुसका निम्ति विभिन्न सेटिङ मिलाइन्छ, मिलाउने काम भइरहेको छ ?’

मुख्यमन्त्री राईले  आफू इमानको जगमा उभिएर नेतृत्व गर्ने बताउँदै अब आक्रामक रुपमा अगाडि बढ्ने पनि दाबी गर्नुभयो । प्रदेश सरकारले केही थाहा पाउँदैन भनेर जे मन लाग्यो त्यही नगर्न उहाँले कर्मचारीलाई सचेत गराउनुभयो ।

बैठकमा आफ्ना कुरा राख्दै प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश सरकारको उद्देश्य र दृष्टिकोणका आधारमा काम गर्न कर्मचारी संयन्त्रको प्रभावकारिताको समीक्षा गर्नु आवश्यक रहेको बताउनुभयो ।  उहाँले कार्यालय प्रमुखहरु घुससहित समातिनु लज्जास्पद भन्दै त्यसले प्रदेशको इज्जतमा धब्बा लागेको पनि बताउनुभयो । उहाँले सबै कर्मचारीको सयमा सय नम्बर आउँदा कार्यालयको प्रगति भने ४० प्रतिशत मात्रै हुनु अमिल्दो भएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकार बनेको डेढ वर्ष पुगेपछि पहिलो पटक मुख्यमन्त्रीको निर्देशनमा यो बैठक बोलाइएको हो । बैठकमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो । प्रदेश सरकारमा विकास बजेट दुरुपयोग भएको आलोचना भइरहेका बेला मुख्यमन्त्रीले कडा निर्देशन दिनु भएको हो ।

गृह जिल्ला भोजपुरका एक कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि  मुख्यमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो  । भ्रष्टाचार प्रकरणमा मुछिएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवको समेत सरुवा भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया