२०२३ को विश्वकपअघि पाकिस्तानी क्रिकेट टिम राम्राे बन्छ : प्रधानमन्त्री इमरान खान

 साउन ६, २०७६ सोमबार २०:५२:० | एजेन्सी
unn.prixa.net

पाकिस्तानकी क्रिकेट टिमका पूर्व कप्तान तथा वर्तमान प्रधानमन्त्री इमरान खानले अर्को विश्वकप अघिसम्म पाकिस्तानले राम्रो टिम बनाउने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री खानले वाशि‌ंगटन डिसीमा पाकिस्तानी नागरिकलाई सम्बोधन गर्दै उत्कृष्ट खेलाडीहरुलाई समावेश गरेर राष्ट्रिय टिम बनाउने बताए ।

इंग्ल्याण्ड विश्वकपमा पाकिस्तान समूह चरणबाट बाहिरिएको थियो । ११ अंक जोड्दै न्यूजिल्याण्डसँग रन रेटमा पछि पर्दै समूह चरणबाट पाकिस्तान बाहिरिएपछि देशमा क्रिकेट टिमको चर्को आलोचना भइरहेका बेला यस विषयमा प्रधानमन्त्री इमरानले अमेरिकामा प्रतिक्रिया दिएका हुन् । उनले नयाँ टिम बनाउनका लागि काम सुरु भइसकेको जानकारी पनि दिए ।

१९९२ को विश्वकप ट्रफी जित्दा कप्तान रहेका प्रधानमन्त्री खानले आफू पनि अहिलेको प्रदर्शनबाट स्तब्ध भएको बताउँदै २०२३ को विश्वकपअघि राम्रो टिम बनाउने बताए । तर आफ्नो योजनाबारे भने उनले खुलाउन चाहेनन्  ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया