काठमाण्डौमा साझाको रात्रीबस : यात्रुको कमी छैन, सुरक्षा पनि भरपर्दो

 साउन ७, २०७६ मंगलबार १०:१६:१८ | अशाेक काेइराला
unn.prixa.net

काठमाण्डौ – ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ’ कलाकार हरिवंश आचार्यले गाएको यो गीत र साझा बस अहिले पनि उत्तिकै चर्चामा छ ।

काठमाण्डौको सवारी चाप, यात्रु असुविधा, वायु प्रदूषण नियन्त्रण तथा आधुनिक सहरको परिकल्पनासहित एक पटक बन्द भइसकेको साझा यातायातले फेरि आफ्नो सेवालाई निरन्तरता दिएको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित उपत्यका बाहिर पनि साझा यातायातले आफ्नो सेवा दिइरहेको छ । पछिल्लो समय साझा यातायातले रात्रीकालीन सेवा पनि सुरु गरेको छ ।

साझा यातायातले एक हप्ता अघिदेखि काठमाण्डौभित्र राति ९ बजेपछि तीन ओटा रात्री बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएका रात्री बसले राति ९ बजेपछि एक पटकमात्र सेवा दिने व्यवस्था मिलाइएको साझा यातायातले जनाएको छ । विस्तारै यो सेवालाई विस्तार गर्ने र रातभर पनि सेवा दिने व्यवस्था मिलाउने साझा यातायात बस व्यवस्थापक तथा लेखा अधिकृत गोपालप्रसाद पन्तले जानकारी दिनुभयो ।

यी रुटमा चल्छन् साझाको रात्रीबस

– न्यूरोड गेटबाट – लाजिम्पाट – पानीपोखरी – टिचिङ हस्पिटल – नारायण गोपाल चोक – सामाखुशी – नयाँ बसपार्क हुँदै त्यही रुट फिर्ता ।

– न्यूरोड गेटबाट – पुरानो बसपार्क – शहीदगेट – त्रिपुरेश्वर – टेकु – कालिमाटी – कलंकी हुँदै त्यही रुट फिर्ता ।

– न्यूरोड– पुरानो बसपार्क – सिंहदरबार – बबरमहल – नयाँ बानेश्वर – तीनकुने – एयरपोर्ट – चावहिल – नारायणगोपाल चोक – नयाँ बसपार्क हुँदै त्यही रुट फिर्ता ।

दुई दशक अघिसम्म निकै भरपर्दो र सस्तो सेवा प्रदायकका रुपमा सञ्चालनमा आएको साझा यातायात २०७० सालमा पुनः सञ्चालनमा आएको हो । उपत्यकामा सवारीको चापसँगै यात्रुहरुले कोचिएर सकसपूर्ण यात्रा गर्न बाध्य भैरहेको बेलामा यसको सेवा सुरु हुँदा उपत्यकाभित्रका अधिकांश यात्रुले यसको लाभ लिएका छन् ।

बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बसको सुरुवात गरेको छ । विसं २०१६ मा स्थापित साझा सहकारी संस्थाले सुरु गरको साझा यातायात दुई दशक अघिदेखि लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः सुरु भएको थियो ।

अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेको संस्थाले जनाएको छ ।

रात्री बस सञ्चालनका चुनौती

यसअघि पनि निकै ठूलो प्रचार गरेर रात्रिकालीन यातायात सेवा सुरु गरिएको थियो । काठमाण्डौ महानगरपालिकाको ४५ लाख रुपैयाँ अनुदानमा रात्रीबस सञ्चालनमा ल्याएको भए पनि यसले निरन्तरता पाउन सकेन । यात्रु नपाइएकाले घाटा भएको भन्दै व्यवसायीहरूले रात्रीबस चलाउन बन्द गरेका थिए ।

उपत्यकामा रात्रीकालीन बस सञ्चालनको लागि यात्रु नपाउने एउटा समस्या छ भने अर्को यात्रुहरुको सुरक्षाको चुनौती पनि उत्तिकै छ । तर पनि साझा यातायातले रात्रीकालीन बस अबलाई अब निरन्तरता दिने अठोट लिएको छ ।

साझा यातायातका बस ब्यवस्थापक तथा लेखा अधिकृत पन्तका अनुसार रात्रीबसमा अहिले कहिलेकाहीँ दैनिक ४० देखि ५० जनासम्म यात्रुहरु हुने गर्छन् । घटीमा पनि १० जना यात्रु त दैनिक भइरहेका छन् । चोक चोकमा सीसी क्यामेरा जडान गरिएकाले सुरक्षा चुनौती पनि नभएको उहाँ बताउनुहुन्छ ।

पन्त भन्नुहुन्छ ‘यात्रु नहुने र सुरक्षाको चुनौतीका कारण रात्री बस सेवा बन्द होला कि भन्ने डर छैन । रात्री बस सञ्चालन नियमित हुन थालेपछि यात्रुहरु बस कुरेरै पनि बस्नुहुन्छ । बस नियमित हुनेबित्तिकै त यात्रुको अभाव भन्ने नै हुँदैन ।’ साझा यातायातको रात्रीकालीन बस सेवा बन्द हुन्छ भन्ने बारेमा शंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘अब बिस्तारै रातभर बस चलाउन कसरी सकिन्छ भन्नेबारे सोच्ने हो । सुरु भएको रात्रीकालीन बस सेवा कुनै पनि हालतमा बन्द हुँदैन ।

मोबाइल एपबाटै हेर्न सकिन्छ बस भएको स्थान

साझा बस कुरेर बस्ने यात्रुहरुले आफ्नो रुटको साझा बस कहाँ आइपुग्यो भनेर मोबाइल एपबाटै थाहा पाउन सक्नेछन् ।

‘मेरो साझा’ नामको एन्ड्रोइड एपबाट साझाका कुन बस कहाँ आइपुगेका छन् भन्ने थाहा पाउन सकिने साझा यातायातले जनाएको छ । यो स्टिमका लागि साझाले सबै बसमा जीपीएस ट्रयाकिङ सिस्टम जोडेको छ ।

एपमा रहेको ‘भ्यू साझा लोकेशन’ क्लीक गरेपछि बस कहाँ छ भनेर यात्रुहरुले पनि मोबाइलमै थाहा पाउन सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

1 Comments

  • Deen Shrestha

    July 25, 2019, 11:04 a.m.

    साझा र नगरपालिका द्वारा सन्चालित रात्री सेवा बन्द हुनु यात्रु नभएर होईन, प्रसस्त यात्रु थिए तर अरु माइक्रो र बस पनि ति रात्री बसको अगाडी र पछाडी राती पनि गुडाउन थाले । जब ति रात्री बस चल्न बन्द भयो ति माइक्रो र बस पनि चलाउन बन्द गरी रात्री सेवालाई अबरोध पुर्याएको हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया