विश्वकप छनोट : नेपालद्वारा कतारसामु १ सय २३ रनको विजयलक्ष्य प्रस्तुत

 साउन ७, २०७६ मंगलबार ९:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई १ सय २३ रनको विजयलक्ष्य पेस गरेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको मध्यम योगफल खडा गरेको हो ।

१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए ।

छैटौँ ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ८.२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए ।

अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ७ रनमात्र जोड्न सके । औलाको चोटबाट पुनरागमन गरेका दीपेन्द्रसिंह ऐरीले नेपालका लाथि सर्बाधिक ३४ रनको पारी खेले । उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रनआउट हुनुअघि सोमपाल कामीले ११ रन जोडे । नेपालको पुछारक्रमका ब्याट्सम्यानको प्रदर्शन यसपल्ट कमजोर देखियो । विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनाउँदा अविनाश बोहोरा र ललित नारायण राजवंशीले खाता खोल्नै सकेनन् । सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भए ।

अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट खेर फालेको थियो । पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो ।

बलिङमा कतारका इकबाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तमोर साइजादल र नुमन सरवारले पनि २–२ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया