गुल्मी पहिरो : ज्यान गुमाउनेको संख्या ९ पुग्यो, परराष्ट्र मन्त्री ज्ञवाली प्रभावित क्षेत्रमा

 साउन ७, २०७६ मंगलबार १९:१७:२० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – अविरल वर्षाका कारण गुल्मीमा गएकाे पहिरोमा पुरिएर ज्यान गुमाउनेको  संख्या ९ पुगेको छ ।

पहिरोमा पुरिएका १३ जनामध्ये मंगलबार साँझसम्म ९ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका भनिएका थप चार जना अझै बेपत्ता रहेको र उनीहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनु भएको छ ।

सत्यवती गाउँपालिका–३, अन्तर्गत ठूलो लुम्पेक र वडा नम्बर ४, लिम्घामा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा सत्यवती गाउँपालिका–३, सिनथलाकी ३१ वर्षीया तिलकुमारी तरामु, उहाँका ७ वर्षीय छोरा दर्शन तरामु, ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको ज्यान गएको हो ।

त्यस्तै लिम्घा भिरखानीमा गएको पहिरोमा परि १२ वर्षीया अञ्जली विक, १० वर्षीय हेमन्त विक, ३० वर्षीया पम्फु विक, ६५ वर्षीया छल्दली विक, ८ वर्षीया सिवानी विक, ४५ वर्षीया निर्मला विकको ज्यान गएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो ।

पहिरोमा पुरिएर ठूलो लुम्पेक सिग्दीकी ४० वर्षीया माया विक, १६ वर्षीया गबी विक, कसिनथला निवासी ८ वर्षीया तारा विक र ४ वर्षीय सुमन विक  पहिरोमा पुरिएर हराइरहेका छन् । ठूलो लुम्पेकमा पहिरोमा पुरिएर घाइते भएका दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको र उनीहरुको अवस्था अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

परराष्ट्र मन्त्री ज्ञवाली पहिरो प्रभावित क्षेत्रमा

गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहितको टोली निरीक्षणका लागि मंगलबार बेलुका पहिरो प्रभावित क्षेञमा पुगेको छ ।

मन्त्री ज्ञवालीसँगै विपद् व्यवस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरे र डाक्टरसहितको मंगलवार बेलुकी ६ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको हो । मन्त्री ज्ञवालीले पहिरो प्रभावित क्षेत्रमा पुगेर घटनाको निरीक्षण गरी घटनाको जानकारी लिनु भएको थियो ।

उहाँले पहिरोमा आफन्त गुमाएका परिवारलाई समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । मन्त्री ज्ञवालीले विपद्को यस घडीमा सबै जना सतर्क भएर बस्न र उद्धार कार्यमा जुट्न आग्रहसमेत गर्नु भएको थियो । 

त्यसै गरी गुल्मी क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्य एवं ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल पनि राहत सामग्रीसहित मंगलबार बेलुका नै पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएको छ । 

चार सयभन्दा बढी विस्थापित

बस्दै आएको घर पहिरोको जोखिममा परेपछि सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा गरी चार सयभन्दा बढी विस्थापित भएका छन् । त्यस क्षेत्रमा घरहरु भत्किएका र चर्किएका छन् ।

विस्थापित नागरिक स्थानीय विद्यालयहरुमा आश्रय लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । भौगोलिक हिसाबले समेत त्यो ठाउँ अत्यन्तै जोखिममा रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । 

पहिरो प्रभावित क्षेत्र सदरमुकाम तम्घासबाट झण्डै ६५ किलोमिटर पूर्वको दूरीमा  पर्दछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया