सरकार ट्रेड युनियन खारेज गर्ने पक्षमा छैन : प्रधानमन्त्री ओली

 साउन ८, २०७६ बुधबार १३:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाउने काम भैरहेको दाबी गर्दै सचेत रहन पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन भन्ने नभएको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता पनि औल्याउनुभयो ।

उहाँले सरकारलाई दिमाग र कर्मचारीहरुलाई हातखुट्टाको रुपमा चित्रण गर्दै कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै आन्दोलन जाने धम्की नदिन पनि सचेत गराउनुभयो ।

त्यस अवसरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेकाले उनीहरुको समस्या तत्काल समाधान गरि दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसैगरी उहाँले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुको तहगत प्रणालीअनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाइ नगर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले कर्मचारीको मागका विषयमा पुनः छलफल गरेर आवश्यक निर्णय लिने प्रतिवद्धता जनाउनु भएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया