सबै सन्तान तमोर नदीले बगाएपछि...

 साउन ९, २०७६ बिहिबार ९:३५:३५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटा नगरपालिका–८ का शंखबहादुर राई तीन जना छोराछोरी तमोर नदीले बगाएपछि सन्तानविहीन बन्नुभएको छ ।

गएको आइतबार पौडी खेल्ने क्रममा शंखबहादुरको ९ वर्षका छोरा सन्दीप राई, ७ वर्षकी छोरी सलिना राई र ४ वर्षीया छोरी संजिला राईलाई तमोर नदीले बगाएको हो । 

घटना गएको आइतबार को भए पनि प्रहरीले साउन ७ गते साँझ मात्र खबर पाएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक डम्बरबहादुर थापाको नेतृत्वमा बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको थियो । 

घटनास्थल पुगेर स्थानीयबासीन्दाको सहयोगमा दिनभर नदीले बगाएका बालबालिकाहरुको खोजी गरे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले जानकारी दिनुभयो । घटनाको जानकारी पाए पश्चात् धनकुटासहित सुनसरी कार्यालयमा पनि जानकारी गराएर नदीले बगाएर बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी राखिएको प्रहरीले बताएको छ ।

याक्चना घाट नजिकै रहेको साहुको खेत अधियाँमा कमाउँदै आउनुभएका शंखबहादुरले विद्यालय बिदा भएका कारण छोराछोरीलाई पनि सँगै खेतमा लिएर जानुभएको थियो । बुबाआमा खेतमा काम गर्न थालेपछि बालबालिकाहरु गोरु चराउँदै नदीमा खेल्न गएको बेला उनीहरु तीनै जनालाई बगाएको हो ।  

सबैभन्दा पहिला कान्छी छोरीलाई नदीले बगाएको थियो । उनलाई बचाउन खोज्दा जेठी छोरीलाई पनि खोलाले बगायो । दुबै जना बहिनीलाई खोलाले बगाएपछि उद्धार गर्न गएका दाजु सन्दीप पनि खोलामा बगेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक डम्बरबहादुर थापाले बताउनुभयो ।

भएका तीनै जना सन्तान नदीले बगाएपछि शंखबहादुर दम्पत्तीको बिचल्ली भएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया