गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: चितवनका बासिन्दामा उत्साह, दुई दिनमै जुट्यो ८० लाख

 साउन ९, २०७६ बिहिबार १४:२०:२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - दुई महिनासम्म निर्माणको काम रोकिएकाे निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फेरि सुरु गरिएको दुई दिनमा ८१ लाख ६१ हजार एक सय १० रुपैयाँ सहयोग प्राप्त भएको छ ।

उद्योग वाणिज्य संघ चितवनले क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

देशकै गौरवको परियोजना भएकाले संघले संस्थागत रुपमा सहयोग गरेको बताउदै अध्यक्ष प्रधानले रंगशाला निर्माणले चितवन जिल्लाको समग्र बिकासका साथै देशकै छवि बढउन गर्न सहयोग पुग्ने बताउनुभयो ।

यसैगरी पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले ५ लाख, भरतपुर महानगरपालिका-१२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले १ लाख ३५ हजार, घिमिरे ब्रर्दश एण्ड सप्लार्यसका शिव घिमिरेले १ लाख ५ हजार  सहयोग गरेका छन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.तिलचन्द्र भट्टराई र उहाँकी धर्मपत्नी प्रा.डा. शारदा थपलियाले निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्नुभएकाे छ।यसैगरी जिल्ला क्रिकेट संघ चितवनको तर्फबाट दुई लाख ५ हजार ५५५ रुपैयाँ सहयोग भएको छ ।

रंगशाला निर्माणका लागि चितवनका बासिन्दाले पनि फाउण्डेशनलाई दरिलो साथ दिएका छन् । प्रत्येक स्थानीय तहले सहयोग समिति समेत गठन गरेर काम अघि बढाएका छन् । चितवनको रत्ननगर, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन पनि भएको छ । कालिका र राप्ती नगरपालिकामा बिहीबार सहयोग समिति गठन हुने धुर्मुस सुन्तली फाउण्डे‍शनका अध्यक्ष सिताराम कट्टेलले बताउनुभयो ।

चितवन जिल्लावासीको उत्साहपूर्ण साथ र सहयोगले हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष कट्टेलले सबै स्थानीय तहमा सहयोग समिति गठन र सहयोग रकम संकलनले रंगशाला बनाउने कामलाई उत्साह थपेको बताउनुभयो । 

भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न सहज वातावरण बनेको भन्दै दुई महिनादेखि रोकिएको काम फाउण्डेशनले फेरि सुरु गरिसकेको छ । बन्द भएको फिल्ड कार्यालय खोलेर रंगशालाको फिल्डमा गर्न मिल्ने जति काम गर्न सुरु गरिएकाे हाे । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया