‘रअ’का प्रमुखसँग प्रधानमन्त्रीकाे भेट भएकाे छैन : सञ्चारमन्त्री बाँस्कोटा

 साउन ९, २०७६ बिहिबार १७:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ‘रअ’का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पार्नुभएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भनी आएको समाचारमा सत्यता नभएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीलाई थाहा छैन । आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्रोटेकलकै आधारमा भेटघाटहरु हुनुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्रीज्यूले भेट्नुभएको छैन ।’

दुवै जनाको कता–कताको फोटो जोडेर भेटघाट भएको भन्दै मूलधारका सञ्चारमाध्यमले समेत भेटै नभएको कुरालाई तथ्य प्रमाणबिना समाचार प्रकाशित गरेको बताउनुभयो । 

दुवै जनाको कता–कताको फोटो राखेर भेटघाट भयो भनेर ढाँटियो भन्दै उहाँले मेनस्ट्रिम मिडिया लाई ‘कुहिरीमण्डलको खेती’मा नरुमल्लिन आग्रह गर्नुभयो । 

'रअ'का प्रमुखले अन्य नेतासँग गरेको भेटघाटका सम्बन्धमा पनि उहाँले अनभिज्ञता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘को–कस्ले भेटे ? को–कस्लाई त्यस्ता भेटघाट गर्ने बानी लाग्या छ थाहा छैन ।’ 

पूर्व प्रधानमन्त्री लगायतसँग 'रअ'का प्रमुखले गरेको भेटघाट कुटनीतिक मर्यादा अनुसार छ त भन्ने पत्रकारको जिज्ञासामा उहाँले भेटबारे नै आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया