काबुलमा तीन वटा बम विस्फोट : कम्तीमा २२ जनाको ज्यान गयो

 साउन ९, २०७६ बिहिबार १८:३२:३२ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको राजधानी काबुलमा सिलसिलाबद्ध बम विस्फोटमा परि कम्तीमा २२ जनाले ज्यान गुमाएका छन् । 

बम विस्फोटमा खानी तथा पेट्रोलियम मन्त्रालयका आठ जना मजदुरले ज्यान गुमाएका छन् । उनीहरु चढेको बसमा बम विस्फोट गराइएको थियो । त्यस्तै ज्यान गुमाउनेमा पाँच जना महिला र एक जना बच्चा पनि रहेका छन् । विस्फाेटमा अन्य २७ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

पहिलो विस्फोटको केही मिनेटपछि नै एक जना आक्रमणकारीले बमसहित आफूलाई उडाउँदा कम्तीमा सात जनाले ज्यान गुमाए भने २० जनाभन्दा बढी घाइते भए ।

‘पहिला एउटा बसमा बम विस्फोट गराइएको थियो र त्यसको केही मिनेटमा नै एक जना आक्रमणकारीले बमसँगै आफूलाई उडाए । तेस्रो विस्फोटमा चाहिँ एउटा कार हावामा उडेको थियो’, काबुलको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहीमीले भने । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने उनले बताए ।  

आतंकवादी संगठन तालिवानका प्रवक्ताले कार बम विस्फोटको जम्मा लिएका छन् । त्यस्तै अरु विस्फोटको जिम्मा आईएसआईएसले लिएको अधिकारीहरुले बताएका छन् ।  

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहीदले कार बम विस्फोटमा नौ जना विदेशी दल मारिएको र दुई ओटा सवारी साधन ध्वस्त भएको दाबी गरेको छ । तर सरकारले भने तालिवानको दाबीलाई आधिकारिक मानेको छैन

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया