सरकारले दिगाे विकास हासिल गर्न आवश्यक तयारी गर्न नसकेकाे पूर्व अर्थमन्त्रीहरुकाे निष्कर्ष

 साउन १०, २०७६ शुक्रबार १४:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व अर्थमन्त्रीहरुले सरकारले दिगाे विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन् । 

पूर्व अर्थमन्त्री एवं समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महत र नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले दिगाे विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष सुनाउनु भएको हो । 

शुक्रबार काठमाण्डौमा ‘नेपाल इकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारले मुलुकको दिगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न नसकेको स्पष्ट पार्नुभयो । 

उहाँले आर्थिक विकासलाई सरकारले मूल एजेण्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दावी गर्नुभयो । आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालको दिगाे विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन सक्ने पूर्व अर्थमन्त्री भट्टराईको सुझाव रहेको छ ।

कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. महतले सरकारले दिगाे विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजनासमेत तय गर्न नसकेको बताउनु भयो । उहाँले मुलुकको दिगाे आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

पूर्व अर्थमन्त्री एवम् सत्तारुढ नेकपाका नेता पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन नसकेको दावी गर्नु भयो । उहाँले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दिगाे विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सकिने पनि स्पष्ट पार्नु भयो ।

पूर्व अर्थमन्त्री पाण्डेले दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्ने भन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढ्न सरकारलाई सुझाव दिनु भयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया